October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

नेपालमा पनि भारतको ७३औं गणतन्त्र दिवस मनाइयो

नेपालमा पनि भारतको ७३औं गणतन्त्र दिवस मनाइयो
  • काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार भारतको ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो । भारतीय राजदूतावासका अनुसार सोही कार्यक्रममा राजदूत क्वात्राले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियो।
    राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ हजार रुपैयाँसहित कम्बल वितरण गरेर सम्मान व्यक्त गर्नु भएको थियो।
    मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘स्वतन्त्रताको अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।
    उक्त महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरूको आयोजना गरिनेछ । नेपालमा उक्त महोत्सव मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरू यसै वर्ष उद्घाटन गर्ने योजना रहेको दूतावासले जनाएको छ ।
    नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    भारतको ७३औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना सन्देश पठाएको छ । उक्त अवसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले शुभकामना सन्देश पठाउनु भएको हो । राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई, प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीलाई र परराष्ट्रमन्त्री खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरलाई छुट्टाछुट्टै शुभकामना सन्देश पठाउनु भएको हो