नव प्रधानमन्त्री देउवाद्वारा १० बुँदे निर्णयमा हस्ताक्षर
लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मङ्गलबार पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सभापति देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । सर्वोच्च अदालतको असार २८ गतेको परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीको नियुक्तिपत्रमा संविधानको उक्त धारा उल्लेख नगरिएकोप्रति सभापति देउवाले असहमति जनाएपछि साँझ ६ वजेलाई निर्धारित शपथग्रहण कार्यक्रम करीव दुई घण्टा ढिलो गरी शुरु भएको थियो ।
प्रधानमन्त्री देउवासँगै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसालले पनि राष्ट्रपति समक्ष मन्त्री पदको पद तथा गोपनियताको शपथ लिनुभयो ।
नवनियुक्त मन्त्रीहरु खाँण र कार्की काँग्रेस पार्टीबाट, शर्मा र भुसाल नेकपा (माओवादी केन्द्र) बाट हुनुहुन्छ ।
शपथग्रहण समारोहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र ) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वपधानमन्त्री डा.बाबुराम भट्टराईलगायत शीर्ष नेताको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री देउवा शपथग्रहण सकिएलगत्तै लैनचौरस्थित शहीद स्मारकमा पुगी अमर शहीदहरूप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्नुभयो ।
यसैबीच, प्रधानमन्त्री देउवाले साँझै सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको छ । उहाँले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन, कोरोना विरुद्धको खोप, मनसुन जन्य विपद व्यवस्थापनलगायत १० बुँदे निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
यस्तै, गृहमन्त्री खाणले पनि सिंहदरवारमा गृह मन्त्रालयको कार्यभार सम्हाल्दै शान्ति सुरक्षा, सुरक्षित जनजीवन, मानव अधिकारको रक्षा, कोरोना संक्रमण नियन्त्रण र मनसुनजन्य प्राकृतिक विपद व्यवस्थापनमा सक्रिय रहने प्रतिक्रिया दिनुभयो ।
वि.सं.२०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुनुभएका देउवा पाँचौं पटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँ २०४८ सालदेखि डडेलधुराबाट निरन्तर निर्वाचित सांसद हुनुहुन्छ ।
२०५२ साल भदौं २७ गते ४९ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवा २०५८ साल साउन ११ गते दोस्रो, २०६१ साल जेठ २४ गते तेस्रो र २०७४ साल जेठ २४ मा चौथो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।
निवर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नुभएको थियो ।
त्यसका विरुद्धमा नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितका १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा परेको रिटको पैmसला सोमबार आएको हो ।
त्यसमा कांग्रेस संसदीय दलका नेता देउवालाई असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी भएको थियो । सोही अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
दिनको ४ बजे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८।३।२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’’
पछि सो पत्रलाई सच्याएर नेपालको संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा शपथ गराइएको थियो ।
प्रतिकृया दिनुहोस्