May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

गहना लुट्न गेरूवामा १० वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक सार्वजनिक

गहना लुट्न गेरूवामा १० वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक सार्वजनिक

बर्दिया| बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा बुधबार बेलुका आयोजित पत्रकार सम्मेलनमा गेरूवा– ५ कै २१ वर्षीय समिर तीरवा सुनारलाई सार्वजनिक गरिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार, मृतक बालिकाले लगाएको सुन र चाँदीको गरगहना लुट्ने लालचकै कारण समिरले उनको हत्या गरेका हुन्।

हत्याको विवरण:

  • मामा घरतर्फ जाँदै गरेकी एन्जलले दुई कानमा एक/एक आनाको सुनको मुन्द्री र घाँटीमा दुई तोलाको चाँदीको सिक्री लगाएकी थिइन्।
  • माछा मार्न खोलामा बसेका समिरले एकलास ठाउँमा एक्लै साइकलमा आइरहेकी एन्जलको गहना देखेर उनलाई धम्काएका थिए।
  • एसपी पौडेलका अनुसार, समिरले बलजफती मुन्द्री निकाल्न खोज्दा एन्जलले चिच्याउँदै प्रहरी र समाजमा भनिदिने बताएपछि समिरले उनको आवाज बन्द गर्न हत्केलाले मुख थुनेका थिए।
  • सोही क्रममा समिरले घाँटी अठ्याएर एन्जलको हत्या गरेको स्वीकार गरेका छन्।

हत्यापछिका गतिविधि:

  • हत्यापछि समिरले एन्जलको साइकल पानीमा, चप्पल झाडीमा फालेका थिए भने शव गेरूवा–५ मूलपानी बुढीखोला किनारको बालुवामा गाडिदिएका थिए।
  • उनले लुटेका सुन र चाँदीका गहना बर्दियाकै विभिन्न सुन पसलमा बेच्न खोजे पनि बिल नभएका कारण कसैले पनि नकिनेको अनुसन्धानबाट खुलेको छ।
  • एसपी पौडेलले भने, “ऊ गहना बेचेर जतिसक्दो छिटो भारत भाग्न खोजेको देखिन्छ।” भारत जाने भाडा र मोबाइल रिचार्ज गर्ने पैसासमेत नभएकाले उनले आफ्नी सासूलाई रिचार्ज गर्न लगाएको पनि खुलेको छ।
  • भारतमा स्काभेटरको हेल्परको रूपमा काम गर्ने समिर भर्खरै वर्षायाम सकिएपछि स्वदेश फर्किएका थिए।