May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

अविरल वर्षा र विपद् जोखिमबीच प्रधानमन्त्रीको सम्बोधन—”सुरक्षित रहनुस्, राज्य तपाईंहरुसँग छ”

अविरल वर्षा र विपद् जोखिमबीच प्रधानमन्त्रीको सम्बोधन—”सुरक्षित रहनुस्, राज्य तपाईंहरुसँग छ”

काठमाडौं— देशभर जारी अविरल वर्षा, बाढी, पहिरो तथा डुबानको गम्भीर जोखिमका बीच प्रधानमन्त्री सुशीला कार्कीले शनिबार साँझ विशेष सम्बोधन गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन्। उनले भनिन्, “सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ पूर्ण तयारीमा छन्।”

प्रधानमन्त्रीले अझै दुई दिनसम्म वर्षा निरन्तर जारी रहने सम्भावना रहेको जनाउँदै नागरिकलाई सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिन्।

मौसम पूर्वानुमान र जलसतहको अवस्था

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना कायमै छ। पछिल्लो २४ घण्टामा तराईका जिल्लाहरूमा २५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

निरन्तरको वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीहरूको जलसतह तीव्र रूपमा बढेको छ। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार:

  • बागमती नदी (खोकना): खतराको तह ३.५ मिटर पार गर्दै हाल ४.२ मिटर पुगेको।
  • मनोहरा, रोसी, लालबकैया नदीहरू: सतर्कता तह पार गरिसकेका छन्।
  • बागमती र मधेस प्रदेश भएर बहने अधिकांश नदी–नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ।

आज साँझ र राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सडक र यातायातमा गम्भीर असर

  • बीपी राजमार्गको मंगलटारमा २० मिटर सडक कटान।
  • नागढुङ्गा–मुग्लिन सडकखण्डका १६ स्थानमा पहिरोको उच्च जोखिम।
  • भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन लगायतका स्थानमा पहिरो र सडक भासिएको कारण आवागमन पूर्ण रूपमा बन्द।

चितवनमा बसेको सुरक्षा तथा सरोकारवाला निकायको बैठकले अर्को सूचना नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। बाहिरी जिल्लाबाट चितवन आइपुगेका यात्रुहरूलाई भरतपुर, नारायणगढ र सौराहाका होटलमा ७५% छुटमा बस्ने व्यवस्था गरिएको छ। सम्पर्क: ९८५५०१४१८०

✈️ हवाई सेवा प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द गरिएको छ। अन्तर्राष्ट्रिय उडान भने प्रभावित छैनन्।

नदी डुबान र स्थानान्तरण

बागमती नदीको बहाव खतरा तह पार गरिसकेको छ। बल्खु र विष्णुमती दोभान क्षेत्र डुबानमा परेको छ। करिब १०० सुकुमबासी घरधुरीलाई जनविकास माध्यमिक विद्यालय, बल्खुमा अस्थायी रूपमा राखिएको छ।

सञ्चार र विद्युत सेवा सतर्कता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै पनि भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा सम्पर्क गर्न अनुरोध गरेको छ। सम्पर्क नम्बरहरू:

  • दूरसञ्चार कम्पनी: १४९८
  • एनसेल: ९००५
  • नेपाल दूरसञ्चार प्राधिकरण: ९८५१०८७४३२, ९८४१३७६२०३
  • मन्त्रालय: ९८४९०५३६६३, ९८४१५२०११५

विद्युत प्राधिकरणले उपभोक्तालाई सतर्क रहन र विद्युत आपूर्तिमा समस्या आएमा ११५० हटलाइन वा स्थानीय नो-लाइट नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

सवारी आवागमनमा विशेष व्यवस्था

काठमाडौँ उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारी सञ्चालनमा रोक लगाइएको छ। टोखा–छहरे बाहेक अन्य नाकाहरू बन्द छन्। एम्बुलेन्स, उद्धार सामग्री बोकेका गाडी र सुरक्षाकर्मी सवार सवारीलाई मात्र अनुमति दिइएको छ।

यात्रु व्यवस्थापन र राहत

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचारलगायत आवश्यक बन्दोबस्त गर्न निर्देशन दिएको छ।

सञ्चार मन्त्रालयको निर्देशन

मन्त्री जगदिश खरेलले विपद्को समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिन तीन दिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। सञ्चार माध्यमलाई जनतालाई सुसूचित गर्ने, सुरक्षाका उपायहरू अपनाउन प्रोत्साहन गर्ने सन्देशमूलक सामग्री प्रकाशन/प्रसार गर्न आग्रह गरिएको छ।

प्रहरी प्रशासनको अपिल

प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।