May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु

जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु

विश्वभरका फार्मासिस्टहरूको योगदानको कदर गर्दै, “Think Health, Think Pharmacist” भन्ने मूल नाराका साथ आज मिति २०८२ असोज ९ गते बर्दियामा विश्व फार्मासिस्ट दिवस भव्यताका साथ मनाइएको छ। फार्मासिस्ट एसोसिएसन अफ नेपाल (PhAN) बर्दियाको आयोजनामा जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु गरिएको थियो।


 

गुलरियामा शुभकामना आदानप्रदान

गुलरिया नगरपालिकास्थित बर्दिया अस्पतालमा PhAN बर्दियाका उपाध्यक्ष श्री विशाल अधिकारीको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो। यस अवसरमा सहभागीहरुले एकअर्कामा विश्व फार्मासिस्ट दिवसको शुभकामना व्यक्त गरेका थिए।

राजापुरमा निःशुल्क औषधि तथा फलफूल वितरण

राजापुर नगरपालिकामा भने दिवसको अवसरमा सामाजिक कार्य गरिएको थियो। PhAN बर्दियाका कोषाध्यक्ष सरस्वती दहितको संयोजकत्वमा आयोजित कार्यक्रममा नगरपालिका उपप्रमुख र NCDA बर्दिया टिमको उपस्थितिमा सिकलेस सेलका बिरामीहरुलाई औषधि र फलफूल वितरण गरिएको थियो। PhAN बर्दियाका अध्यक्ष श्री कृष्ण प्रसाद पौडेल पनि कार्यक्रममा उपस्थित थिए।

बारबर्दियामा फार्मेसीको महत्वबारे छलफल

बारबर्दिया नगरपालिकामा बिहान ८ बजेदेखि कार्यक्रम सुरु भएको थियो। PhAN बर्दियाका उपाध्यक्ष सुजन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बारबर्दिया नगर अस्पतालका स्वास्थ्यकर्मी तथा पदाधिकारीहरुबीच फार्मासिस्टको काम, कर्तव्य र महत्व बारे छलफल भएको थियो। बारबर्दिया स्वास्थ्य शाखा प्रमुख श्री गोविन्द पौडेल, मेडिकल अधिकृत डा. सुधीर के.सी. र डा. जितेन्द्र यादवले आफ्ना धारणा राख्दै विश्व फार्मासिस्ट दिवस र विजया दशमीको शुभकामना आदानप्रदान गरेका थिए।

ठाकुरबाबामा दिप प्रज्वलन र फलफूल वितरण

दिनभरका कार्यक्रमपश्चात् साँझ ३:३० बजे ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा अर्को महत्वपूर्ण कार्यक्रम भएको थियो। ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख आदरणीय श्री विष्णु ज्ञवालीको प्रमुख आतिथ्यमा ठाकुरबाबा आधारभूत नगर अस्पतालमा IPD र Emergency का बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो। साथै, भुरीगाउँ चोकमा दिप प्रज्वलन गरी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबै शुभचिन्तक, सल्लाहकार तथा सहभागीहरुलाई PhAN बर्दियाले धन्यवाद ज्ञापन गरेको छ।