May 14, 2026, Thursday
३१ बैशाख २०८३, बिहीबार
Trending

बर्दिया जिल्लामा कर्फ्यू आदेश र सेवा पुनः सुचारु सम्बन्धी प्रशासनिक निर्णय

बर्दिया जिल्लामा कर्फ्यू आदेश र सेवा पुनः सुचारु सम्बन्धी प्रशासनिक निर्णय

गुलरिया —  बर्दिया जिल्लाको सुरक्षा अवस्था सामान्य हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै सेवा प्रवाह पुनः सुरु गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा जनधनको सुरक्षालाई ध्यानमा राख्दै मिति २०८२/०४/२३ देखि लागू गरिएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिइएको छ।

आदेश अनुसार प्रत्येक दिन साँझ ६:०० बजेदेखि विहान ६:०० बजेसम्म कर्फ्यू लागू हुनेछ भने विहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म निषेधाज्ञा जारी रहनेछ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ कि पाँच जना भन्दा बढीको जमघट, जुलुस, प्रदर्शन, सभा तथा आवागमन निषेध गरिएको छ। उल्लंघन गरेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनी कारवाही गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, प्रशासकीय अधिकृत बिमल गुरुङद्वारा जारी अर्को सूचनामा कार्यालयबाट पूर्वमा रोकिएको सेवा पुनः सुचारु गरिएको जानकारी दिइएको छ। सुरक्षा अवस्था सामान्य हुँदै गएपछि मिति २०८२/०४/२७ देखि सेवा नियमित रूपमा प्रवाह हुने जनाइएको छ।

जिल्ला प्रशासनले नागरिकहरूलाई सुरक्षाकर्मीहरूसँग सहयोग गर्न र जारी आदेशको पूर्ण पालना गर्न हार्दिक अनुरोध गरेको छ।