May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

बर्दियामा सवारी दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

बर्दिया – बर्दिया जिल्लामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। गुलरिया नगरपालिका-३ स्थित बुढीखोला नजिक हुलाकी सडकखण्डमा भे ११ प ३८६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको सिमेन्टको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो।

रातिको करिब ९ बजेको समयमा गुलरियाबाट खैरापुरतर्फ जाँदै गरेको उक्त मोटरसाइकलका चालक गुलरियाका करण गुप्ता (२०/२१ वर्ष) ले मादक पदार्थ सेवन गरेको बुझिएको छ। दुर्घटनामा चालक करण गुप्ताको छातीमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि बर्दिया अस्पताल गुलरियामा पठाइएकोमा राति ९:०७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

सोही मोटरसाइकलमा सवार चालकका भाइ अर्जुन गुप्ता (१७ वर्ष) को पेटमा मध्यम चोट लागेको छ। उनको बर्दिया अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति रोहित लोध (२१ वर्ष) सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दियाबाट पाँच जनाको टोली खटिएको थियो। प्रहरीका अनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको आशंका गरिए पनि सवारी चालक अनुमतिपत्र (स.चा.अ.प.) भने नभएको पाइएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।