बर्दियामा ब्राउन सुगरसहित पाँच जना पक्राउ, थप अनुसन्धान जारी
बर्दिया — जिल्ला प्रहरी कार्यालय, बर्दियाले लागू औषध (ब्राउन सुगर) सहित तीन छुट्टाछुट्टै घटनामा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई गुलरिया र ठाकुरबाबा नगरपालिकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पहिलो घटना: प्रहरीका अनुसार, भदौ १ गते साँझ ५:३५ बजे गुलरिया नगरपालिका-११ गणेशपुर बाईपासमा चेकजाँचका क्रममा ठाकुरबाबा नगरपालिका-४ का अबिशेष चौधरी र वडा नम्बर १ का विशाल खत्रीलाई पक्राउ गरिएको थियो। उनीहरूको साथबाट ६०० मिलिग्राम प्लास्टिकसहित र शुद्ध ४७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
दोस्रो घटना: भदौ २ गते दिउँसो १:३० बजे गुलरिया नगरपालिका-७, महाकवि टोल बाईपास रोडमा शंकास्पद रूपमा हिँडिरहेका गुलरिया नगरपालिका-६ का अजमेर अलि नाउलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको साथबाट ४१० मिलिग्राम प्लास्टिकसहित र शुद्ध १८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
तेस्रो घटना: त्यसैगरी, भदौ २ गते नै दिउँसो २:०० बजे गुलरिया नगरपालिका-६, शान्तिटोलबाट हिँडिरहेका गुलरिया नगरपालिका-७ का नुर महम्मद नाउलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट प्लास्टिकसहित ५९० मिलिग्राम र शुद्ध २७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
प्रहरीले पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत, बर्दियाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्