May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराईको निर्वाचन आयोगमा सरुवा

कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराईको निर्वाचन आयोगमा सरुवा

काठमाडौँ: नेपाल सरकारको मिति २०८२/४/२६ को निर्णयानुसार कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई निर्वाचन आयोगमा सरुवा हुनुभएको छ। उहाँले आजदेखि विभागबाट रमाना लिनुभएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय सहसचिव लिला प्रसाद शर्मालाई विभागको नयाँ महानिर्देशकको रूपमा नियुक्त  गरेको हो।

गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागमा २५ महिना काम गर्नुभएका महानिर्देशकले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।

महानिर्देशकले गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागमा बिताएका २५ महिनाको अनुभवलाई स्मरण गर्दै यस अवधिमा नीतिगत र कार्यगत नेतृत्व प्रदान गर्नुहुने माननीय मन्त्री र सचिवज्यूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले मन्त्रालय र विभागका सहकर्मी, सहयोगी निकाय र सञ्चारकर्मीहरूलाई पनि धन्यवाद दिनुभएको छ।

उहाँले आफ्नो कार्यक्षमता बढाउन अन्य निकायको कार्य अनुभव लिने इच्छा व्यक्त गरेअनुसार नेपाल सरकारले यो अवसर दिएकोमा आभार प्रकट गर्नुभयो। कर्मचारीहरूले गृह मन्त्रालयमा आउँदा पुरस्कृत भएको र बाहिर जाँदा कारबाहीमा परेको मानिने धारणाबारे पनि उहाँले चर्चा गर्नुभयो।  गृह मन्त्रालयमा काम गर्दा आफूले तोकिएको जिम्मेवारी पूरा गर्न कुनै कञ्जुस्याइँ नगरेको र भविष्यमा पनि आफ्नो कार्यक्षेत्र जहाँ भए पनि काममा अल्छीपन नदेखाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

पछिल्लो समयमा केही कारागारमा भएका झडपका घटनामा दुःख व्यक्त गर्दै उहाँले भविष्यमा यस्ता घटना हुन नदिन र घाइतेहरूको उपचारका लागि काम भइरहेको जानकारी दिनुभयो। कारागार नियमावलीको मस्यौदा स्वीकृतिको चरणमा रहेको र कारागारहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रणाली अगाडि बढाइएको पनि उहाँले उल्लेख गर्नुभयो।

विभागको नयाँ महानिर्देशकका रूपमा योग्य सहकर्मी आउनुभएको र उहाँसँग संस्थागत स्मरण हस्तान्तरण गर्ने काम भइसकेको जानकारी दिँदै उहाँले सुधारका कामले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। अन्तमा, उहाँले मन्त्रीज्यू, सचिवज्यू लगायतका सहकर्मीहरूले मन्त्रालयमै रहेर काम गर्न गरेको आग्रहका बाबजुद अन्य निकायको अनुभव लिने आफ्नो चाहनालाई स्वीकार गरेकोमा सबैप्रति आभार व्यक्त गर्नुभयो।