गोहीको आक्रमणमा परेका युवकको ५ दिनपछि शव फेला

गोहीको आक्रमणमा परेका युवकको ५ दिनपछि शव फेला

मधुवन – बर्दियाको मधुवन नगरपालिका–१, सूर्यपटुवा निवासी १९ वर्षीय रूप मिलन थारुको शव गोहीको आक्रमणमा परेको पाँच दिनपछि फेला परेको छ। गत साउन २० गतेदेखि बेपत्ता भएका थारुको शव शनिबार घटनास्थलभन्दा करिब साढे २ किलोमिटर तल घोप्टो परेको अवस्थामा भेटिएको हो।
स्थानीय गोठालाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वडा नम्बर १ का वडाध्यक्ष मीनबहादुर थापाका अनुसार, शव क्षतविक्षत अवस्थामा फेला परेको थियो, जसको पहिचान मृतकका बुवाले गर्नुभएको छ।
त्रिभुवन मावि मधुवनबाट भर्खरै १२ कक्षा उत्तीर्ण गरेका थारु, ठाकुरबाबा नगरपालिका-९ को मध्यवर्ती क्षेत्रमा कर्णाली नदीको भँगालोमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परी बेपत्ता भएका थिए।
बेपत्ता थारुको खोजीका लागि सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी र स्थानीयवासी निरन्तर खटिएका थिए। प्रहरीले शवलाई पोष्टमार्टमका लागि बर्दिया अस्पताल, गुलरिया पठाएको जानकारी दिएको छ।
यस दुखद घटनाले स्थानीय समुदायमा गहिरो शोक छाएको छ।