जनगर्जन नेटवर्कको कार्यालयभित्र लागूऔषध अफिम र नक्कली नोट फेला
कोहलपुर। लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर नगरपालिका– ११ न्युरोडमा रहेको जनगर्जन नेटवर्क प्रालिको शाखा कार्यालयबाट १ हजार दरका ५१ नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिमसहित दुईजनालाइ पक्राउ गरेको छ।
आफूलाई पत्रकार बताउने मनबहादुर सहकारी र रूकुम बाँफेकोट नगरपालिका– १० की सपना पुन पक्राउ परेका हुन्।
कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ घर भएर कोहलपुर बस्दै आएका मनबहादुरले सञ्चालन गरेको जनगर्जन नेटवर्कको कार्यालयभित्र लागूऔषध अफिम र नक्कली नोट फेला परेको हो ।
प्रहरीले अफिम र नेपाली नक्कली नोटसँगै नोट छाप्ने मेसिन, एउटा मोटरसाइकल र एक थान मोबाइल पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नोटसहित पक्राउ गरेका व्यक्तिको बयानका आधारमा कोहलपुरमा छापा मारेको थियो ।
पक्राउ परेका दुई जनालाई सुर्खेत प्रहरीले हिरासतमा लिएको बाँके प्रहरी प्रवक्ता दीपक पातलीले बताउनुभयो।

प्रतिकृया दिनुहोस्