जगदीशपुर ताल पन्छी आरक्ष (बर्ड सेन्चुरी) घोषणा
कपिलवस्तु। रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सिमसार क्षेत्रमध्ये १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको कपिलवस्तु नगरपालिका–९ र १० मा पर्ने जगदीशपुर ताललाई पन्छी आरक्ष (बर्ड सेन्चुरी) घोषणा गरिएको छ । ताल परिसरको प्रवेशद्वारमा बनाइएको सारस प्रतिमामा शिलालेख अनावरण र जगदीशपुर बर्ड सेन्चुरी लेखिएको बेलुन उडाएर शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ताललाई पन्छी आरक्ष घोषणा गर्नु भएको हो। चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई बर्ड सेन्चुरी घोषणा गरिएको हो । चरा संरक्षण गरी पर्यापर्यटनको विकास गर्दै स्थानीयलाई रोजगारीसँग जोडेर जीविकोपार्जनमा सघाउने लक्ष्य घोषणामा छ ।
जगदीशपुर ताल अब लुम्बिनी प्रदेशको पहिलो पन्छी आरक्ष बनेको र यो निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले शुक्रबार गरेको वन मन्त्री सुरेन्द्र हमालले बताउनु भयाे। । ‘संसारभरिका पाहुनालाई आकर्षित गर्न सक्ने सामर्थ्य जोकोहीले पाउँदैनन्,’ मुख्यमन्त्री केसीले भन्नु भयाे, ‘जगदीशपुरले त्यो अवसर पाएको छ ।’ त्यसको सदुपयोग गरेर चरा र प्रकृतिमैत्री घर, होमस्टे र होटल बनाएर स्थानीयले लाभ लिनुपर्ने उँहाको भनाई छ।
जगदीशपुरलाई बर्ड सेन्चुरी बनाउन अध्ययन गर्नु भएका पूर्ववन सचिव विश्वनाथ ओलीले सिमसारका स्रोतको संरक्षण गर्दै वातावरणमैत्री पूर्वाधार बनाएर विकासको सम्भावना रहेको बताउनु भयो । ६ वटा क्षेत्रहरू राखेर पाँचवर्षे व्यवस्थापन योजना बनाइएको छ । आरक्षको संरक्षण र बुद्धिमत्तापूर्ण उपयोग गरी पाउने लाभको न्यायोचित वितरण गर्ने योजना बनाइएको छ । त्यसका लागि २३ करोड ६० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
ओली र गणेशराज जोशीको टोलीले अध्ययन गरेर पन्छी आरक्षका लागि उपयुक्त रहेको बताएपछि डिभिजन वन कार्यालयले घोषणाको प्रक्रिया अघि बढाएको थियो । ओली र जोशी संलग्न हरित अर्थतन्त्र विकास केन्द्रले पेस गरेको कार्ययोजनाअनुसार लुम्बिनी प्रदेश सरकारले घोषणा गर्ने काम अघि बढाएको हो । यसका लागि प्रदेशले अर्थ र कानुन मन्त्रालयको सहमति लिएर प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।
सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकलन गर्न मुलुककै उत्कृष्ट गन्तव्य बनेको छ । लुम्बिनी प्रदेश वन ऐन २०७८ को परिच्छेद ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई चरा आरक्ष वा जैविकमार्ग घोषणा गर्न सकिने व्यवस्थाअनुसार चरा आरक्ष घोषणा गरिएको हो । व्यापक छलफल गरेर आरक्षको महत्त्व बुझाएरै घोषणा गरिएको डिभिजन वन कार्यालय डीएफओ विजयराज सुवेदीले बताउनु भयो । ‘सिँचाइका लागि बनाइएको तालमा चरालाई महत्त्व दिएको भनेर कहिलेकाहीं असन्तुष्टि आउँछ,’ उनले भने, ‘त्यसको बुद्धिमत्तापूर्ण उपयोग होस् भन्नेमा हामी सचेत छौं ।’
तालले बर्सेनि हिउँदमा बसाइँ सरेर आउने १५ देखि २० हजार चरालाई आश्रय दिँदै आएको छ । ताल महत्त्वपूर्ण सिमसार क्षेत्र बन्न पुग्दा सन् २००३ मा नेपाल सरकारको पहलमा रामसार सचिवालयले यसलाई अन्तर्राष्ट्रिय महत्त्वको विश्व सिमसार क्षेत्रका रूपमा सूचीकृत गरेको थियो । तालमा नेपालमा एकै ठाउँमा उभिएर सबैभन्दा बढी चरा देख्न सकिन्छ । मध्य एसियाका अतिरिक्त रुस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा यहाँ आउने गर्छन् । यसअघि सुदूरपश्चिम प्रदेशले घोडाघोडी ताललाई ०७८ फागुन २७ मा बर्ड सेन्चुरी घोषणा गरेको थियो ।
प्रतिकृया दिनुहोस्