February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

लुम्बिनीको मन्त्रीपरिषद विस्तार हुँदै, बर्दियाबाट तिलक शर्मा हिमाल र बांकेबाट सुरेन्द्र हमाल मन्त्री बन्दै

लुम्बिनीको मन्त्रीपरिषद विस्तार हुँदै, बर्दियाबाट तिलक शर्मा हिमाल र बांकेबाट सुरेन्द्र हमाल मन्त्री बन्दै

भालुवाङ । माओवादी र कांग्रेस दुवै पार्टीमा आकांक्षी धेरै भएकाले लुम्बिनी प्रदेशमा मन्त्री छान्‍न सकस छ । यही कारण सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीतिमा छ । मुख्यमन्त्री कुल प्रसाद केसी र ग्रामिण तथा शहरी विकासमन्त्री डिल्ली चौधरी काठमाडौं पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका नेतासँग मन्त्री परिषद् विस्तारबारे राय लिनु भएको छ ।
विस्तार हुने मन्त्रिपरिषद्‍मा माओवादीबाट पाल्पाका तुलाराम घर्ती, दाङका इन्द्रजित थारु, दाङकै विमला खत्री वली, बर्दियाका तिलकराम शर्मा र बाँकेकी कृष्णा केसी र गुल्मीका गिता थापामध्ये मन्त्री हुने चर्चा छ । यी मध्ये विमला वली मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।
कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल, पाल्पाका बीरबहादुर राना, रुपन्देहीकी रमा अर्याल र वसिउद्दिन खान तथा अर्घाखाँचीकी निर्मला क्षेत्री मन्त्री बन्ने चर्चा छ ।
हमाललाई पार्टीले प्रमुख सचेतकबाट हटाएको थियो । कांग्रेसले पनि विस्तार हुने मन्त्रिपरिषद्‍मा जाने मन्त्रीको नाम टुंगो लगाउन नसकेको प्रमुख सचेतक फखरुद्दिन खानले बताउनु भयो। ‘मन्त्रीको नाम टुंगो लगाउन खासै समस्या र विवाद छैन’ खानले भने, ‘चर्चामा रहेका साथीहरू मध्येबाटै सिनियारिटी, पार्टीमा गरेको योगदान र अनुशासनलाई हेरेर पार्टीले न्यायोचित निर्णय गर्छ ।’ लुम्बिनी प्रदेश मन्त्रिपरिषदको संख्या बढ्ने भएको छ । यसअघि १० सदस्यीय रहेको मन्त्रिपरिषद १५ सदस्यीय पुर्‍याउने तयारी भएको छ ।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काले प्रदेश सरकारमा तीन दल सहभागी भएकाले मन्त्रिपरिषद् पहिलेको भन्दा केही ठूलो आकारको बनाउने तयारी भएको जानकारी दिनु भयो। मन्त्रीको संख्या बढ्ने भएकाले केही मन्त्रालय टुक्रयाउने बाध्यतामा सरकार छ ।
स्रोतका अनुसार कांग्रेस र माओवादीबीच ४-४ मन्त्री र एक-एक राज्यमन्त्री तथा जसपालाई तीन मन्त्री दिने समझदारी भएको छ ।माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा २७ साउनमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सरकारमा माओवादी केन्द्रसहित कांग्रेस र जनता समाजवादी पार्टी सहभागी छन् । यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित नवलपरासीका अजय शाही पनि विना विभागीय मन्त्री बन्नु भएको छ । जसपाका तीन मन्त्री बनिसकेकाले अब विस्तार हुने मन्त्रिपरिषद्‍मा माओवादी र कांग्रेसबाट थप मन्त्री बन्ने छन् ।
यसअघि माओवादी संसदीय दलका उपनेता प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेस नेता दाङका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकासमन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त हुनु भएको थियो । जसपाकी सुमन शर्मा रायमाझी र पुरमति ढेंगा विना विभागीयमन्त्री हुनु हुन्छ ।