November 20, 2025, Thursday
५ मंसिर २०८२, बिहीबार
Trending

जेनजीका २३ समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग

जेनजीका २३ समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग

काठमाडौं – जेनजी आन्दोलनसँग आबद्ध विभिन्न २३ समूहहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्।

उनीहरूले कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। ज्ञापनपत्रमा भनिएको छ, “विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्युनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनावमात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो।”

मुख्य गुनासाहरू

  • ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही नगरेको
  • प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन नगरेको
  • विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारबाही नगरेको
  • जेनजी विद्रोहका घाइतेहरूको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति तथा भरणपोषण नगरेको

मागपत्रको सार

यदि मागहरू सम्बोधन भएनन् भने प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाई जेनजी नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रपति पौडेललाई मध्यस्थता गर्न आग्रह गरिएको छ।

विकल्प माग गर्ने समूहहरू

ज्ञापन पत्रमा हस्ताक्षर गर्ने २३ समूहमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसियसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीबी ग्रुप, जीयुपीसी ग्रुप, जेवाइएन ग्रुप, जेनजी युनाइटेड, जेनजी २.०, रियल जेनजी, जेनजी वाई ग्रुप, जेनजी अलायन्स, नेपाल जेनजी रिभ्युलेसन, इक्वीटी नेपाल, समता जेनजी, अल नेशन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी ग्रुप, जेनजी एकता मञ्च र जेनजी मुभमेन्ट नेपाल रहेका छन्।