May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

रास्वपाले कात्तिक १५ भित्र उम्मेदवार छनोटको तयारी सुरु गर्ने, स्वर्णिम वाग्लेलाई संवादको जिम्मेवारी

रास्वपाले कात्तिक १५ भित्र उम्मेदवार छनोटको तयारी सुरु गर्ने, स्वर्णिम वाग्लेलाई संवादको जिम्मेवारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो कात्तिक १५ गतेभित्र उम्मेदवार छनोटको तयारी सुरु गर्ने भएको छ। असोज २२ र २४ गते बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई जिम्मेवारी दिएको छ।

उम्मेदवार छनोट विधि र समयसीमा

  • ‘एकीकृत निर्वाचन खाका’ अन्तर्गत उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्र, र पालिका तहसम्मको सुझाव संकलन गरिनेछ।
  • यसका लागि प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित एक सुझाव संकलन कार्यदल गठन गरिएको छ।
  • उक्त कार्यदललाई सुझाव संकलनका लागि सात दिनको अवधि तोकिएको छ।
  • प्रवक्ता मनिष झाका अनुसार, कार्यदलको सुझावको आधारमा कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गरिनेछ।

 

डा. स्वर्णिम वाग्लेलाई उच्च संवादको जिम्मेवारी

उपसभापति डा. स्वर्णिम वाग्लेलाई उच्च संवाद समितिको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ। उहाँलाई वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्ने जिम्मेवारी दिइएको हो। वाग्लेले वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च तहको संवाद गर्ने प्रवक्ता झाले जानकारी दिनुभयो।

केन्द्रीय सल्लाहकार परिषद् गठन

रास्वपाले विभिन्न क्षेत्रका विज्ञ तथा लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् समेत गठन गरेको छ। पाँच सदस्यीय परिषद्मा मनोनित हुनेहरूमा जगन्नाथ पौडेल (वरिष्ठ अधिवक्ता, चितवन), नमस्तेलाई भूमि (सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ, तनहुँ), शोभा जोशी विजुक्छे (समाजसेवी, उद्यमी, ललितपुर), बुद्धीलाल विश्वकर्मा (इन्जिनियर, जलस्रोत एवं सिंचाइ विज्ञ, सप्तरी), र जयकिशोर लाल (जनकपुर नर्सिङ क्याम्पस पूर्व प्रमुख, महोत्तरी) हुनुहुन्छ।

विस्तारित बैठक चितवनमा

पार्टीले आफ्नो विस्तारित बैठक कात्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय गरेको छ। उक्त बैठकको व्यवस्थापनको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य हरि ढकाललाई तोकिएको छ।