May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयहरूको निर्णायक आन्दोलन घोषणा, ९ गतेबाट विद्यालय बन्द

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयहरूको निर्णायक आन्दोलन घोषणा, ९ गतेबाट विद्यालय बन्द

काठमाडौं — विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले संयुक्त रूपमा निर्णायक आन्दोलनको घोषणा गरेका छन्।

बुधबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा यी दुई संगठनले भदौ ८ गतेसम्म माग पूरा नभए भदौ ९ गतेदेखि देशभरका निजी विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले भने, “८ गतेसम्म कुर्छौं, त्यो दिनसम्म माग पूरा भएन भने ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलनमा होमिन्छौं।”

आन्दोलनका चरणहरू:

  • भदौ ५: बिहान ११ बजे माइतीघरमण्डलमा प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने।
  • भदौ ६: देशभरका स्कूल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने।
  • भदौ ८: माग पूरा नभए निर्णायक आन्दोलनको सुरुवात।
  • भदौ ९: निजी विद्यालयहरू बन्द गरिने।

निजी विद्यालयहरूको प्रमुख मागहरू:

१. ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द विधेयकबाट हटाइनुपर्ने।

२‍‍. विद्यालयमा उत्पादन नहुने सामग्रीहरू (पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गरिनुपर्ने

३. कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउने प्रावधान हटाइनुपर्ने।

४. छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने।

५. छात्रवृत्ति सम्बन्धी ऐन, नियमावली र संशोधनहरूमा रहेको विभेदकारी प्रावधान (जसअनुसार केवल कक्षा ६–१० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा सीटीईभीटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने) खारेज गरिनुपर्ने।

विधेयकको अवस्था:

विद्यालय शिक्षा विधेयक हाल संसदीय समितिमा पारित हुने चरणमा रहेको छ। तर सरोकारवालाहरूको असन्तुष्टिका कारण विधेयक पारित प्रक्रिया रोकिएको छ।