April 30, 2026, Thursday
१७ बैशाख २०८३, बिहीबार
Trending

बर्दियामा जंगली जनावरको आक्रमणबाट एक महिलाको मृत्युः सरकारलाई तत्काल कदम चाल्न आग्रह

बर्दियामा जंगली जनावरको आक्रमणबाट एक महिलाको मृत्युः सरकारलाई तत्काल कदम चाल्न आग्रह

गुलिरया – बर्दियाको गुलरिया नगरपालिका–१२, भैसाही गाउँमा जंगली जनावरको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। करिब ४० वर्षीया जगतरानी थारुको शव शनिबार बिहान नर्सरी वन नजिकै खेतमा फेला परेको हो। प्रहरीका अनुसार उनको घाँटी र टाउको अलग भएको अवस्थामा शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी चक्रडमर पालले घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाउँदै पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै आक्रमण गर्ने जनावर बाघ हो वा चितुवा भन्ने निश्चित हुने बताए। शवलाई गुलरिया जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।

छिमेकी जगमाेहन चौधरीका अनुसार, मृतक थारु शुक्रबार साँझ बदाम गोड्न खेत गएकी थिइन्। घर नफर्केपछि खोजतलास गर्ने क्रममा शनिबार बिहान उनको शव भेटिएको हो। यस घटनापछि गाउँभरिकै स्थानीय त्रसित बनेका छन्।

स्थानीयको गुनासो

गाउँबासीले चितुवा पटक–पटक गाउँमा देखिने गरेको तर सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाएका छन्। स्थानीय छेदुलाल थारुले हालै चितुवा बंगुरको खोर नजिकैसम्म आएको बताउँदै वन्यजन्तुको गतिविधि बढ्दो भएको चिन्ता व्यक्त गरे। गाउँमा चितुवाले धेरै कुकुर मारेको तथ्य पनि बाहिर आएको छ।

सरकारसँग माग

दुःखद घटनापछि राजनीतिज्ञ तथा समाजसेवक यमनाथ घिमिरेले सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। उनले भने, “वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति रोक्न राज्यले तुरुन्तै कदम चाल्नुपर्छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्नुपर्छ।”

घिमिरेले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न, सुरक्षाको प्रत्याभूति दिन र भविष्यमा यस्ता घटना नदोहोरिने गरी दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउन सरकारलाई जोडदार माग गरेका छन्।

मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।