गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा
काठमाडौं – कुख्यात गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) ज्यान मार्ने उद्योग मुद्दामा १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। भक्तपुर जिल्ला अदालतले उनलाई आज (शुक्रबार) धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
२०८१ भदौ १० मा भक्तपुरको दिव्यश्वरी टाउन प्लानिङस्थित बड्डाको तावामा भएको मनिष रायमाझीमाथिको खुकुरी प्रहार घटनामा उनको संलग्नता रहेको आरोप थियो। यस घटनामा सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेका थिए। यसअघि, यसै घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको हरिवन नगरपालिका-४ का २५ वर्षीय खवास पक्राउ परेर छुटेका थिए। चक्रेको वतन खुलेपछि बयान र अनुसन्धान गरी उनलाई पक्राउ गरिएको थियो।
साउन १५ गते आफ्नो जन्मदिन मनाइरहेको बेला महाराजगञ्जको साम्बाला होटलबाट पक्राउ परेका चक्रेलाई काठमाडौं जिल्ला अदालतले अभद्र व्यवहार मुद्दामा ३० हजार धरौटीमा रिहा गरेको थियो। तर, रिहा हुनेबित्तिकै उनलाई भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानका लागि पुनः पक्राउ गरेको थियो। आज अदालतको आदेशपछि उनले धरौटी बुझाएर रिहा भएका हुन्।

प्रतिकृया दिनुहोस्