May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

बर्दियामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दो, सचेत रहन प्रशासनको आग्रह

बर्दियामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दो, सचेत रहन प्रशासनको आग्रह

बर्दिया – पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट विभिन्न किसिमका गलत सूचना, अफवाह, र ठगीका घटनाहरू बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, बर्दियाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी एक सूचनाअनुसार, झूटा फोनकल, समाचार, अफवाह र गलत सूचनाले जनसमुदायमा भय, असमझदारी र सामाजिक द्वन्द्व बढाएको तथा आर्थिक ठगीका घटनाहरू पनि धेरै भएको पाइएको छ। यसबाट समाजको शान्ति, सुरक्षा र सद्भावमा नकारात्मक असर पर्ने जोखिम बढेकोले सबैलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ।
कार्यालयले जारी गरेको सूचनामा नागरिकहरूलाई विशेषगरी निम्न विषयमा ध्यान दिन आग्रह गरिएको छ:
* अपरिचित नम्बर: कुनै पनि अपरिचित नम्बरबाट फोन आएमा तत्कालै विश्वास नगर्न। सूचनाको सत्यता पुष्टि गरेपछि मात्र त्यसलाई मान्न भनिएको छ।
* प्रलोभनबाट बच्न: सामाजिक सञ्जालमार्फत विदेश पठाउने, पुरस्कार दिलाउने वा ठूलो रकम जिताउने जस्ता प्रलोभन देखाएर बैंक खातामा पैसा जम्मा गर्न लगाउने ठगीका घटनाहरूबाट सचेत रहन आग्रह गरिएको छ।
* फेक सूचना: कुनै पनि फेक फोनकल, भ्रामक सूचना वा अफवाह पाएमा तत्कालै नजिकको प्रशासनिक कार्यालय वा प्रहरीलाई जानकारी दिन पनि अनुरोध गरिएको छ।
* पुष्टि गरेर मात्र सेयर: सामाजिक सञ्जाल, फोनकल वा मेसेन्जरमा आएका कुनै पनि समाचार, फोटो वा भिडियोलाई त्यसको सत्यता र स्रोतको पुष्टि नगरी सेयर नगर्न सचेत गराइएको छ।
* अपमानजनक सामग्रीमा रोक: कुनै पनि अपमानजनक, विभेदकारी वा द्वन्द्व फैलाउने सामग्री सामाजिक सञ्जालमा प्रयोग नगर्न पनि प्रशासनले सबैलाई आग्रह गरेको छ।
कार्यालयले स्थानीय प्रशासनसँग सम्बन्धित कुनै पनि समस्या वा जिज्ञासा भएमा सोझै कार्यालयमा सम्पर्क गरेर आधिकारिक जानकारी मात्र लिन अनुरोध गरेको छ। गलत सूचनाले सामूहिक प्रगति र सुरक्षामा गम्भीर असर पुर्‍याउने भन्दै सबै नागरिकलाई सामाजिक सञ्जालको प्रयोगमा विवेकशील र जिम्मेवार बन्न हार्दिक अपील गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतद्वारा हस्ताक्षरित यस सूचनाले सामाजिक सञ्जालको सही प्रयोग र समाजमा शान्ति स्थापनाका लागि सबैको सहयोग अपरिहार्य रहेको कुरामा जोड दिएको छ।