उम्मेदवार सिफारिस प्रक्रिया औपचारिक रूपमा अघि बढदै
बर्दिया । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार सिफारिस प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मातहतका सबै संरचनालाई समयमै सिफारिस पठाउन केन्द्रीय कार्यालयले परिपत्र जारी गरेको हो। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि तयारीलाई तीव्रता दिँदै कांग्रेसले मंसिर मसान्तभित्रै प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई उम्मेदवार सिफारिस केन्द्रमा पठाउन निर्देशन दिएको छ।
पार्टीले यसपटक पनि संगठनगत योगदान, राजनीतिक अनुभव र इमानदारी, जनसम्पर्क क्षमता र सामाजिक छवि, लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता तथा निर्वाचन जित्ने सम्भावनालाई प्रमुख मापदण्डका रूपमा राखेर सिफारिस प्रक्रिया अघि बढाएको छ। प्रदेश र जिल्ला तहबाट सिफारिस संकलन गरी केन्द्रमा पठाउने पुरानै विधि दोहोर्याइएको छ। प्राप्त सिफारिसहरूमध्ये राष्ट्रिय सभा सदस्यको अन्तिम छानोट संसदीय समितिले गर्नेछ भने प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम निर्णय केन्द्रीय नेतृत्वले पार्टी विधानअनुसार गर्नेछ।
२०७९ सालको निर्वाचनमा बर्दियामा देखिएको विवादले यसपटक सिफारिस प्रक्रिया कति व्यवस्थित होला भन्ने चासो बढेको छ। बर्दिया क्षेत्र नम्बर १ मा तत्कालीन सभापति मुक्तिनाथ यादव र सचिव मनोज वर्माले अलग–अलग लेटरप्याड प्रयोग गरी सिफारिस पठाएका थिए। दुवै सूचीमा समावेश भएकाले सर्वसम्मत मानिएका आठ जना—सञ्जय कुमार गौतम, यमनाथ घिमिरे, महेन्द्र कुमार शर्मा, गंगाधर पौडेल, नेत्रबहादुर रानाभाट, महेन्द्रराज तिवारी, विवेक राजभण्डारी र कृष्णप्रसाद पोखरेल—लाई प्रमुख दावेदार मानिएको थियो। समानुपातिकतर्फ दुवै पक्षले जाबेदा खातुन जागा, सरिफ अहमद सिद्धिकी, मोहनलाल थारु, खडानन्द तिवारी, खम्भ बहादुर घर्तिमगर, देवकी नन्दन त्रिपाठी, माया कुमारी पौडेल, कालुराम बिश्वकर्मा, शान्तिकुमारी अधिकारी, लक्ष्मी ढकाल र पवित्रा कुमारी अर्यालको नाम सिफारिस गरेका थिए। लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको नाम सभापति यादवको सूचीमा परे पनि पुनका स्वकीय सचिवले रोल्पाबाट मात्र सिफारिस भएको भन्दै बर्दियाबाट उम्मेदवारी नहुने स्पष्ट पारेका थिए। अन्ततः प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७९ अनुसार पहिले मनोनयन दर्ता गर्ने सञ्जय गौतमको उम्मेदवारी सदर भएको थियो।
बर्दिया क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ किशोर सिंह राठौर, आरजु देउवा राना, अरुणप्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे, जन्मजय तिमिल्सिना, परशुराम थारु र भागीराम थारुको नाम सिफारिस भएको थियो। समानुपातिकतर्फ फुलाराम थारु, भद्रबहादुर शाही, किरण शर्मा झा, नन्दाराम तिमिल्सिना, मालती सोडारी, सरिता देवी शर्मा, चन्द्रध्वज जि.सी., बद्री सिग्देल, मेनका देवी पौडेल, शसिराम वि.क., मनिषा गुरुङ, तर्क बहादुर शाही, दिप नारायण श्रेष्ठ, मोहनराज जोशी र मालती शाहको नाम सिफारिस गरिएको थियो।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले २०७९ भदौ १९ गतेको निर्णयअनुसार प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्षतर्फ सोदे विष्ट, भवनेश्वर चौधरी र तिलक बहादुर बुढाक्षेत्रीको नाम सिफारिस गरेको थियो भने समानुपातिकतर्फ रत्ना थारु र टुकराज घिमिरेको नाम सिफारिस गरिएको थियो। प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा प्रत्यक्षतर्फ मंगलप्रसाद थारु, बिजयदत्त देवकोटा, काशीराम चौधरी, भेषराज पौडेल (भरत), ठग्गुलाल रिजाल, सुभाष पोखरेल, रविन्द्र यादव र सुरेन्द्र थापाको नाम सिफारिस गरिएको थियो। समानुपातिकतर्फ भिमलाल विश्वकर्मा, मिश्रीलाल अहिर, हरिप्रसाद थारु, मोहम्मद याकुब, राम पाण्डे, चिरञ्जीवी ज्ञवाली (घाइते अपांग), विश्वनाथ यादव, टोपबहादुर थापा, विपिन यादव र मुलचन्द्र यादव सिफारिस भएका थिए। समानुपातिक महिला तर्फ टिका अधिकारी, विन्दुकुमारी चौधरी, उर्मिला ताम्रकार र मनिषा यादव सिफारिस भएका थिए।
प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फ जग्गा प्रसाद पाण्डे, जंगबहादुर मल्ल (जीवन), रामचन्द्र थापा, विद्याप्रसाद खनाल, डबलसिंह साउद, युवराज अधिकारी र गणेश प्रसाद आचार्य सिफारिस भएका थिए। समानुपातिकतर्फ गोपाल प्रसाद पौडेल, बेदप्रसाद भण्डारी, तुल्सी पुन, सरस्वती शाह, अशोक कुमार सोडारी, सुरेश राज योगी, गोपाल बहादुर शाह, कालिका बिष्ट, लक्ष्मी देवी पौडेल, दुर्गा सापकोटा, जगत राम चौधरी, माघुराम थारु, राजबहादुर चौधरी, बिन्तीराम थारु, मैजु थारु, बृहस्पति चौधरी, रिताकुमारी महतो, चाँदनी चौधरी, जयराम विश्वकर्मा, धनविर परियार, प्रेमबहादुर सुनार, तारा अधिकारी शुक्ला र विनोद राय यादव सिफारिस भएका थिए।
प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्षतर्फ अरुणप्रकाश सिंह राठौर, मिनराज चौधरी, जन्मजय तिमिल्सिना, हिमा कुमारी चौधरी, जनक बहादुर धामी, चन्द्रध्वज जि.सी., मथुरा प्रसाद थारु, कमल प्रसाद रेग्मी, कृष्णप्रसाद जैसी, दिनेश कुमार चौधरी, अलोक कुमार थारु, दरबारी थारु, देवमान थारु, छप्पुराम थारु, दिपक प्रसाद भण्डारी, धनिराम गिरी, कमल पाण्डे, रामस्वरुप थारु, योगेन्द्र बजगाइँ र मदन चौधरी सिफारिस भएका थिए। समानुपातिकतर्फ फुलाराम थारु, सोमप्रसाद चौधरी, प्रशुराम सुनार, तारा चौधरी, प्रतिमा चौधरी, राजु बडुवाल खत्री, नाचुराम चौधरी, बालकुमारी सिंह ठकुरी, शान्ति चौधरी, चन्द्रबहादुर चौधरी, खटक बहादुर शाह र राजेश प्रसाद उपाध्याय सिफारिस भएका थिए।
प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवार चयनका लागि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठकले प्रारम्भिक छनोट गर्नेछ। प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तअनुसार कम्तीमा एक महिला सहित बढीमा दुई जनाको नाम सिफारिस गर्न सकिनेछ। सहमति भए सहमतिअनुसार र सहमति नजुटेमा बहुमतका आधारमा निर्णय हुनेछ। संयुक्त बैठकबाट सिफारिस भएका नामहरू जिल्ला कार्यसमितिमा पठाइनेछन्, जिल्ला कार्यसमितिले आफ्नो राय जोडेर प्रदेश कार्यसमितिमा पठाउनेछ, र प्रदेश कार्यसमितिले पनि रायसहित नामहरू केन्द्रमा पठाउनेछ। केन्द्रले सबै विवरण सुरक्षित राख्दै नामहरू केन्द्रीय संसदीय समितिमा पठाउनेछ, जसले सहमति भए सहमतिअनुसार र सहमति नजुटेमा बहुमतका आधारमा अन्तिम निर्णय गर्नेछ। निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएपछि पार्टीले आधिकारिक रूपमा उम्मेदवारी घोषणा गर्नेछ।
समानुपातिक तर्फ संविधानको धारा ८४ अनुसार आवश्यक समावेशी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको छ। कुनै समुदायको नाम सिफारिसमा नआएमा वा पर्याप्त नभएमा केन्द्रीय संसदीय समितिले बाहिरबाट पनि योग्य व्यक्तिको नाम चयन गर्न सक्नेछ। संविधानको धारा ८६ उपधारा २(क) अनुसार निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका लागि प्रदेश कार्यसमितिले जिल्लाबाट नाम मागी एक सिटका लागि अधिकतम तीन जनासम्म सिफारिस गर्न सक्नेछ। ती नामहरू केन्द्रमा आएपछि संसदीय समितिले छलफल गरी अन्तिम निर्णय गर्नेछ, जसलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरिनेछ। धारा ८६ उपधारा २(ख) अनुसार मनोनित हुने राष्ट्रिय सभा सदस्यको निर्णय पनि संसदीय समितिले नै गर्नेछ।
नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले बाँकेको क्षेत्र नम्बर–३ अन्तर्गत खजुरा बजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय तहका नेताहरू एउटै निर्वाचन क्षेत्रबाट दुई पटकभन्दा बढी चुनाव लड्न नपाउने व्यवस्था आवश्यक भएको बताएका छन्। पार्टीका सबै तहमा न्यायको अनुभूति गराउन आपसी न्यायपूर्ण व्यवहार अनिवार्य रहेको उनले उल्लेख गरे। शान्ति–सुरक्षा तथा आवश्यक तयारीको अभावले निर्वाचन सुनिश्चित हुन नसकेको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राठौरले सरकार, सुरक्षा निकाय र सम्बन्धित निकायहरूले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
यसैबीच नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर–२ ले शाहीपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि राठौरले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले मुलुकलाई राजनीतिक निकास दिन समयमै निर्वाचन सम्पन्न हुनु अपरिहार्य रहेको बताए। पार्टी महाधिवेशनलाई संगठनको पुनर्ताजगी, आन्तरिक एकता र संस्थागत सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै उनले पार्टीभित्र अनुशासन, पारदर्शिता र आपसी विश्वासलाई मजबुत बनाउँदै आगामी राजनीतिक प्रक्रियालाई सफल बनाउन सबै तहका नेता–कार्यकर्ताको सक्रियता आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्