गहना लुट्न गेरूवामा १० वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक सार्वजनिक

गहना लुट्न गेरूवामा १० वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक सार्वजनिक

बर्दिया| बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा बुधबार बेलुका आयोजित पत्रकार सम्मेलनमा गेरूवा– ५ कै २१ वर्षीय समिर तीरवा सुनारलाई सार्वजनिक गरिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार, मृतक बालिकाले लगाएको सुन र चाँदीको गरगहना लुट्ने लालचकै कारण समिरले उनको हत्या गरेका हुन्।

हत्याको विवरण:

  • मामा घरतर्फ जाँदै गरेकी एन्जलले दुई कानमा एक/एक आनाको सुनको मुन्द्री र घाँटीमा दुई तोलाको चाँदीको सिक्री लगाएकी थिइन्।
  • माछा मार्न खोलामा बसेका समिरले एकलास ठाउँमा एक्लै साइकलमा आइरहेकी एन्जलको गहना देखेर उनलाई धम्काएका थिए।
  • एसपी पौडेलका अनुसार, समिरले बलजफती मुन्द्री निकाल्न खोज्दा एन्जलले चिच्याउँदै प्रहरी र समाजमा भनिदिने बताएपछि समिरले उनको आवाज बन्द गर्न हत्केलाले मुख थुनेका थिए।
  • सोही क्रममा समिरले घाँटी अठ्याएर एन्जलको हत्या गरेको स्वीकार गरेका छन्।

हत्यापछिका गतिविधि:

  • हत्यापछि समिरले एन्जलको साइकल पानीमा, चप्पल झाडीमा फालेका थिए भने शव गेरूवा–५ मूलपानी बुढीखोला किनारको बालुवामा गाडिदिएका थिए।
  • उनले लुटेका सुन र चाँदीका गहना बर्दियाकै विभिन्न सुन पसलमा बेच्न खोजे पनि बिल नभएका कारण कसैले पनि नकिनेको अनुसन्धानबाट खुलेको छ।
  • एसपी पौडेलले भने, “ऊ गहना बेचेर जतिसक्दो छिटो भारत भाग्न खोजेको देखिन्छ।” भारत जाने भाडा र मोबाइल रिचार्ज गर्ने पैसासमेत नभएकाले उनले आफ्नी सासूलाई रिचार्ज गर्न लगाएको पनि खुलेको छ।
  • भारतमा स्काभेटरको हेल्परको रूपमा काम गर्ने समिर भर्खरै वर्षायाम सकिएपछि स्वदेश फर्किएका थिए।