संसद विघटन असंवैधानिक र सर्वोच्च अदालतको व्याख्या विपरीत : नेपाली कांग्रेसको कडा प्रतिक्रिया

संसद विघटन असंवैधानिक र सर्वोच्च अदालतको व्याख्या विपरीत : नेपाली कांग्रेसको कडा प्रतिक्रिया

काठमाडौं – नेपाली कांग्रेसले हालैको संसद विघटनलाई संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत भएको भन्दै कडा आपत्ति जनाएको छ। उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णयलाई लोकतान्त्रिक उपलब्धिमाथि गम्भीर प्रहारको रूपमा व्याख्या गरेको छ।

बैठकले भदौ २३ र २४ मा भएका अप्रिय घटनाहरूको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र संविधानले सुनिश्चित गरेका परिवर्तन तथा उपलब्धिहरूलाई जोगाउनुपर्ने आवश्यकता औंल्याएको छ। कांग्रेसले संवैधानिक रिक्तता प्रयोग गरी जनताको दशकौं लामो संघर्षबाट प्राप्त अधिकार उल्ट्याउने दुस्प्रयास नहोस् भन्ने चेतावनी पनि दिएको छ।

जेनजीको माग अनुसार नेतृत्व दिनुपर्ने प्रस्ताव कांग्रेसले राष्ट्रपतिबाट लिइएको पहललाई जेनजी आन्दोलनको भावना अनुसार निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै आन्दोलनले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने सुझाव दिएको छ। संविधान संशोधनमार्फत अन्तरिम सरकारलाई वैधानिकता दिने र नयाँ निर्वाचनको घोषणा गर्ने प्रस्ताव पनि कांग्रेसले अघि सारेको छ।

संविधानको मार्गबाट समाधान खोज्न जोड कांग्रेसले सहमति पूर्वक अवलम्बन गर्न सकिने संवैधानिक प्रक्रिया प्रयोग नगरी गरिएको निर्णयलाई दुःखद भनेको छ। विज्ञप्तिमा भनिएको छ, “हामीले प्रस्तुत गरेको प्रस्तावमा सबैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग सम्बोधन हुन्थ्यो र संविधानसम्मत निर्णय हुने अवस्था थियो।”

नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता कांग्रेसले चुनौतीपूर्ण परिस्थितिमा स्थितिलाई थप विग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री तथा संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागी थिए।