शान्ति र अमनचयन कायम गर्न सबैलाई आग्रह
काठमाडौं – राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न भागमा हालै भएका घटनाक्रमबाट जनधनको क्षति भएको भन्दै सरकारका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शान्ति र अमनचयन कायम गर्न सबैलाई आग्रह गरेका छन्।
मुख्य सचिव, प्रधान सेनापति, गृह सचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले आज एकै स्वरमा विज्ञप्ति जारी गर्दै स्थिति थप बिग्रन नदिन सबै पक्षलाई संयमित हुन अपिल गरेका हुन्।
विज्ञप्तिमा, ‘हालैका घटनाबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना’ गरिएको छ। यसले शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न सबै राजनीतिक दल तथा सरोकारवालाहरूलाई आह्वान गरेको छ।
संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृह सचिव गौकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजू अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा रहेका छन्।
उनीहरूले मुलुकमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्नु राज्यको मुख्य दायित्व भएको बताउँदै, ‘कुनै पनि बहानामा हुने हिंसात्मक गतिविधि र तोडफोडका कार्यले राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याउनुका साथै नागरिकको जीवन र स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गर्ने’ उल्लेख गरेका छन्।
विज्ञप्तिमा सबै नागरिकलाई शान्ति र सद्भाव कायम गर्न सहयोग गर्न र कुनै पनि अप्रिय घटना हुन नदिन सतर्क रहन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्