January 18, 2026, Sunday
५ माघ २०८२, आईतवार
Trending

नेपाल प्रेस युनियन अध्यक्षको आह्वान : “देश बिचौलियाको हातमा, कलमले प्रतिकार गरौं”

नेपाल प्रेस युनियन अध्यक्षको आह्वान : “देश बिचौलियाको हातमा, कलमले प्रतिकार गरौं”

परासी, पश्चिम नवलपरासी — नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले देशमा बिचौलियाहरूको प्रभाव बढ्दै गएको गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारहरूलाई उनीहरूका विरुद्ध कलम चलाउन आह्वान गर्नुभएको छ।

पश्चिम नवलपरासीको परासीमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले लोकतान्त्रिक मूल्य र गणतन्त्रको संस्थागत विकासमा पत्रकारहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले देशको निर्णय प्रक्रिया र सार्वजनिक स्रोतहरूमा बिचौलियाहरूको हस्तक्षेप बढ्दै गएको भन्दै पत्रकारितालाई जनताको पक्षमा सशक्त बनाउने समय आएको बताउनुभयो।

“देश बिचौलियाको हातमा गएको छ। अब कलमले प्रतिकार गर्नुपर्छ,” अध्यक्ष लम्सालको तीव्र अभिव्यक्ति थियो।

उक्त कार्यक्रममार्फत नेपाल प्रेस युनियनले देशभर सञ्चालन गरिरहेको सय दिने सदस्यता विशेष अभियानको लुम्बिनी प्रदेशमा औपचारिक शुभारम्भ पनि गरिएको थियो। अभियानले पुराना सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमार्फत पत्रकारिता पेशामा पारदर्शिता र प्रतिबद्धता सुदृढ गर्ने लक्ष्य लिएको छ।

युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो, र यसले विगतदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ।