सपना जस्ताे दर्दनाक घटना

सपना जस्ताे दर्दनाक घटना

जीत राम चौधरी

मधुवन । खाना खाएर टिभी हेर्दै थिएँ ८:०० बजेकाे समाचार शुरु भएकाे केही मिनेट मात्रै हुँदै थियाे । छिमेकी मनाेज बाहिरबाट गुहार माग्दै “अंकल अंकल भर्खरै घरबाट मेराे भान्जा (२ वर्षे बालक) हराए ।” हामी आत्तिँदै हातमा टर्च र लट्ठी लिएर दाैड्याैं । कता खाेज्ने कहाँ खाेज्ने केही मेलाेमेसाे पाइएन । आँगनमा “बच्चा खाेज्देऊ, भर्खरै आँगनमा थियाे ……..” विलापपूर्ण रुवाबास गर्दै २/३ जना महिला आत्तिएर कराइरहेका थिए । मेराे घरमा खबर गरेर मनाेज गाउँतिर खबर गर्न दाैड्याे । आठदिन मात्रै अघि बाघकाे आक्रमणबाट छिमेकीले ज्यान गुमाएकाे घटना मनमस्तिस्कमा ताजै छ । शुरुमा हामी ५/६ जना मात्रै घरकाे वरपर नियााल्दै मैले भारतकाे सिमानातिर बस्ने छिमेकी मुक्तकमैया बस्ती र ९ नंगाउँका यज्ञ दाइ र नारायण भाइलाई फाेन गरें । त्यसपछि जिल्लामा डिएसपी सापलाई फाेन गरेर जानकारी गराएँ । बच्चा बाघले लिएकाे हुनुपर्छ भन्ने हामीलाई लागिसकेकाे थियाे । त्याेकुरा मैले डिएसपी सापलाई पनि भनेँ । त्यतिखेरसम्म दुइतिरका ( गाउँ नं. ७ र ९) र मुक्तकमैया टाेलका केही जमात भेला भइसकेकाे थियाे । करीब १०/१२ मिनेट जति खाेज्दा घरकाे पछाडि रगत लत्पतिँदै बाँसघारी तर्फ लगेकाे रहेछ भन्ने जानकारी पाइयाे । सयाैंकाे संख्यामा रहेकाे जमात हातहातमा टर्च र लट्ठी लिएर खेतबारी तर्फ दाैडियाे । अर्काे ठाउँमा रगतकाे निशाना देखियाे । नजिकै रहेकाे गहुँबारी घेरा हालेर हाेहल्ला गर्दै छापा मारियाे तर केही भेटिएन । तबसम्म बच्चा सकुशल भेटिने आश मरिसकेकाे भएतापनि खाेजतलास गर्न सबै तल्लिन रह्याैं । सुरक्षाकर्मी सहित सबै जताततै समूह बनाएर दाैडियाैं । हामी १५-२० जना बाउडर ( नेपाल- भारत सीमाना) जंगलसम्म पुग्याैं र खेतबारी हुँदै फेरि पछिल्लाे पटक रगत देखिएकाे स्थानमा पुग्याै । राती करीब साढे नाै बज्न लागेकाे थियाे “भेटियाे भेटियाे” भन्ने आवाज आयाे । सबै उतै दाैडियाैं । हराएकाे भनिएका, हिजाे भर्खर मामा घर आएका २ वर्षका बालक ढलिरहेका थिए । फेरि सास लिने अवस्थाका रहेनछन् । बाघ देखिने त कुरै भएन । राती नै प्रहरीले घटना मुचुल्का तयार गरि शब उठाउने काम भई गुलरिया पठाइयाे ।

२ वर्षको छाेरा लिएर सानीमाकाे घरमा पाहुना आएकी ती बालककाे आमाकाे विलापसँगै निस्कने अनुत्तरित प्रश्न सुन्ने र समवेदना बाहेक जवाफ हामी कसैसँग रहेन ।

मृतात्मा प्रति श्रद्धाञ्जली

घटना :२०८१/११/३ गते शनिवार साँझ (मधुवन न.पा. ९, धर्मबस्ती बर्दिया ।