गठबन्धन २०८४ को चुनावसम्म कायम रहन्छ: गृहमन्त्री

भैरहवा। गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताउनु भएको छ।
भैरहवामा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताउनु भयो।
‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल–माथि हुन्न’ गृहमन्त्री लेखकले भन्नु भयो। अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको उहाको भनाइ छ । संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने गृहमन्त्री लेखकले बताउनु भयो।
गृहमन्त्री लेखकले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको औँल्याउनु भयो।
समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्रीले कानुनी शासनलाई भीडले प्रभावित गर्ने प्रयास भएको बताउनु भयो।
लुम्विनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तीको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने गृहमन्त्रीले बताउनु भयो।
प्रतिकृया दिनुहोस्