January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक

गुलरिया । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति सबै मतपरिणाम सार्वजनिक भएको हो ।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नु भयो । यस्तै, नेकपा एमालेका सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गर्नु भयो ।

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी हुनु भएको छ । उहाँले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पाले दुई हजार ६ सय मत प्राप्त गर्नु भयो ।

यस्तै, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी हुनु भएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी तिमिल्सिना ४३ मतान्तरले विजयी हुनु भएको हो । तिमल्सिनाले एक हजार ६ सय ३७ मत ल्याएर विजय हासिल गर्नु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ को वडाध्यक्ष नेपाली काँग्रेसका अमिन थारू निर्वाचित भएका छन्।सोमबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार ४८ वर्षीय थारु १०४३ मत प्राप्त गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका शेरबहादुर थारूले ६७८ मत ल्याए। वडाध्यक्ष निर्वाचित अमिन थारूले ३६५ मतान्तर कायम गरे।

आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५ मत प्राप्त गर्नु भयो ।

मत परिणाम अनुसार कांग्रेसले कीर्तिपुरको प्रमुख सहित १६ वडाध्यक्षमा जित हासिल गरेको छ । एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपप्रमुख सहित सात वटा वडामा जित हासिल गरेको छ ।

उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवार पनि वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । आइतबार ४१ पदका लागि मतदान भएको थियो ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा-२ को वडाध्यक्ष निर्विरोध निर्वाचित हुनु भएको थियो । आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।

उपचुनावमा ठूला ३ दल कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मताधार धेरथोर अदलबदल भए पनि उनीहरू नै मुख्य शक्ति हुन् भन्ने तथ्य पुनस्थापित भएको छ ।