December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

ट्रम्पद्वारा मन्त्रीपरिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति शुरु

ट्रम्पद्वारा मन्त्रीपरिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति शुरु

गुलरिया । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो मन्त्री परिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति गरिरहनुभएको छ । नाभेम्बरमा ५ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्पले जित हासिल गरेपछि उहाँले जनवरी २० मा सपथ लिनुहुने छ । सोहि अनुसार ट्रम्पले आफ्नो मन्त्री परिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति गरिरहनुभएको हो ।
ट्रम्पले अमेरिकी रक्षामन्त्री, केन्द्रीय खुफिया एजेन्सी (सीआईए) प्रमुख र ह्वाइट हाउस परिषदमा नियुक्त गर्नुभएको छ ।
त्यस्तै ट्रम्पले भारतीय मूलका विवेक रामास्वामी र विश्व धनाड्य एलन मस्कलाई सरकारी दक्षता अर्थात डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी (डिओजीइ) प्रमुख पदको जिम्मेवारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दुबैको नियुक्तीमा ट्रम्पले यी दुई उत्कृष्ट अमेरिकीहरूले अनावश्यक खर्च कम गर्न र संघीय एजेन्सीहरूको पुनर्गठन गर्न काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उत्कृष्ट व्यक्तिहरुको नियुक्तिले अमेरिका बचाउ आन्दोलनको लागि महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
ट्रम्पले रक्षामन्त्रीको जिम्मेवारी पीट हेगेसालाई, जोन रेटक्लिफलाई सीआईए प्रमुख र विलियम जोसेफ म्याकगीन्लेलाई ह्वाइट हाउसका सल्लाहकारको जिम्मेवारी दिनुभएको छ । पीट हेगेसा पूर्व सैन्य अधिकारी र हाल फक्स न्यूजको प्रस्तोता हुनुहुन्छ । त्यस्तै जोन रेटक्लिफ अमेरिकाको नेशनल इन्टेलिजेन्सका पूर्व निर्देशक हुनुहुन्थ्यो । यस्तै विलियम जोसेफ म्याकगीन्ले एक स्मार्ट र दृढ वकिल हुनुहुन्छ।
यसैबीच ट्रम्पले माइक वाल्ट्जलाई अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्नुभएको छ । ५० वर्षीय वाल्ट्ज फ्लोरिडाका कांग्रेस सदस्य हुनुहुन्छ। उहाँ लामो समयदेखि ट्रम्पलाई समर्थन गर्दै आउनुभएको छ ।
त्यस्तै माइक हकाबीलाई इजरायलको राजदूतमा नियुक्त गरिएको छ । हक्काबी पछिल्लो १३ वर्षमा इजरायलको राजदूतमा नियुक्त हुने पहिलो गैर–यहूदी हुनुहुन्छ ।