प्रभावकारी काम गर्दै बर्दिया ट्राफिक, ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

गुलरिया। नजिकिदै गरेको चाड पर्वलाई लक्षित गरि बर्दियामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा सुरक्षित यात्रा र ट्राफिक सचेतनाको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका पाँच स्थानमा सहायता कक्ष स्थापना गरेको हो।
सहायता कक्षमा चालकको लागूपदार्थ तथा मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण नियमितरुपमा गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुधीर कुमार खड्काले बताउनु भयो।
जिल्लाको गुलरिया वसपार्क, भुरीगाउँ, राजापुर, वाँसगढी, सानोश्रीमा यात्रुसहायता कक्षहरु स्थापना गरिएको हो ।
चाडपर्वको समयमा यात्राका क्रममा हुन सक्ने आपराधिक घटना रोक्न, सवारी दुर्घटना न्यूनिकरण गर्ने तथा सवारीमा यात्रुका समस्या बुझ्ने, बढी भाडा लिए नलिएको जाँच गर्ने उद्देश्य छ ।
सदरमुकाम गुलरिया बसपार्कमा रहेको कक्षको उद्घाटन गर्दै सार्वजनिक सवारी साधन तथा यात्रामा समस्याहरु भए टोल फ्रि नम्वर १०० र जिल्ला प्रहरी कार्यालय बर्दियाको ९८५८०९०१०१ सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अनुरोध गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले आफू मातहतका कार्यालय र कर्मचारीहरुको नियमित निरीक्षणमा रहेकोले त्रुटी रहित तवरबाट प्रभावकारी रूपमा कार्यसम्पादन गर्न गराउन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो।
बर्दियामा पूर्व-पश्चिम राजमार्गको ६३, हुलाकी राजमार्गको ७२ किलोमिटर र सहायक सडकमा लामो तथा छोटो दूरीका सवारी संचालन हुने गर्दछन् । यात्रु सहायता कक्ष, सवारी चेकजाँच, कारवाही एवम् राजश्व असुली र सचेतनामूलक कार्यक्रमलाई संगसंगै लागिएको प्रहरी निरीक्षक सुधीर कुमार खड्काले बताउनु भयो।
बर्दिया ट्राफिकले आव ०७८/०७९ मा १८७३८ सवारी साधन कारवाही गरी १ करोड ३ लाख ३१ हजार, ०७९/०८० मा १८०९६ सवारीसाधनलाई कारवाही गरी १ करोड ४ लाख २१ हजार पाँच सय, आव ०८०/०८१ मा १८०८१ सवारी साधनलाई कारवाही गरी १ करोड १२ लाख १४ हजार पाँच सय राजश्व असुली गरेको छ।
चालू आवको साउनमा ६८८ सवारीसाधनमा कारवाही गरी पाँच लाख ५१ हजार, भाद्रमा ७४ सवारी साधनलाई कारवाही गरी चार लाख ५२ हजार २ सय राजश्व असुली भएको छ।
बर्दियामा सवारी दुर्घटना मा परी आव ०७८/०७९ मा ४६ जना, ०७९/०८० मा ३३ जना, ०८०/०८१ मा २६ जनाको मृत्यु भएको छ। चालू आवाको साउनमा २ र भाद्रमा १ जनाको ज्यान गएको छ।
दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले शुक्रबार बिहान गुलरिया बजारमा रहेका झण्डै पाँच दर्जन छाडा पशु चौपायालाई गुलरिया २ पण्डितपूरमा रहेको कञ्जी हाउसमा व्यवस्थापन गरिएको समेत गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल मातहत जिल्ला प्रहरी कार्यालय बर्दियाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले प्रभावकारी काम गर्दै आएको छ।
प्रतिकृया दिनुहोस्