December 7, 2024, Saturday
२२ मंसिर २०८१, शनिबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । उहाँलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उहाँको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रसाईंलाई उहाँको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिनु भएको छ।
प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो। हामी अनुसन्धानकै क्रममा छौँ । अहिले यसबारे थप विवरण खुलाउन मिल्दैन, डीआईजी अर्यालले भन्नुभयो ।
उहाँका अनुसार प्रसाईंलाई म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको छ। अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले उनीमाथि अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद हुन सक्ने कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।

“कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,” उक्त दफामा भनिएको छ।

तर प्रसाईँविरुद्ध मुद्दा चलाउने वा नचलाउने निर्णय अनुसन्धानपछि मात्रै गरिने प्रहरीले जनाएको छ। प्रसाईँलाई अनुसन्धानका लागि म्याद थप गर्न आइतवार नै जिल्ला अदालत काठमाण्डूमा उपस्थित गराउने तयारी भइरहेको छ।

पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहनु भएका प्रसाई आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहनु भएको छ।