October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

प्रदेश संरचना र समावेशीता हटाउन सकिदैन् : देउवा

प्रदेश संरचना र समावेशीता हटाउन सकिदैन् : देउवा

गुलरिया । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताउनु भएको छ।
कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।
‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’
उहाँले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताउनु भयो । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उहाँले भन्नुभयो, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन् ।’
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रको खिलाफमा नभएको समेत बताउनु भयो। संविधानको एक दशक, कार्यान्वयन र चुनौती विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आफूले विद्यार्थी कालदेखि नै प्रजातन्त्रको लागि लडेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘ओलीजी प्रधानमन्त्री भएपछि उहाँले संविधानमा संशोधन गर्नुपर्ने कुरा भन्नुभएको छ । त्यो प्रजातन्त्रको खिलाफमा चाहिँ होइन । प्रजातन्त्रलाई अझ मजबुद बनाउनको लागि संविधानमा सुधार हुन्छ। हामी सबै प्रजातन्त्रको लागि लडेको पार्टी हो । ओलीजीलाई पहिलो पटक मैले जेलमा भेटेको हो । हामी प्रजतान्त्रको लागि विद्यार्थी कालदेखि नै लडेर आएका हौं । जेलनेल सबै भोगेका पार्टी हौं । प्रजातन्त्रको खिलाफमा कुनै काम हुँदैन । यसलाई कसरी जनताको जवाफदेही बनाउने भन्ने कुरा भएको छ ।’
उहाँले भन्नुभयो , ‘प्रजातन्त्रलाई अझै मजबुत बनाउने किसिमले संविधानमा सुधार हुने गरी संविधान संशोधन हुन सक्दछ ।’
नेपाल विभिन्न जातजाति मिलेर बनेको देश भएको भन्दै देउवाले इतिहासले गरेका गल्तीहरू समाप्त गर्न नसकिएको स्वीकार गर्नुभयो।
‘नेपाल विभिन्न जातजातिले बनेको देश हो । यसमा अझै पनि विभाजन छ,’ उहाँले भन्नुभयो, ‘अझै पनि इतिहासले गरेका गल्तीहरू समाप्त गर्न सकिएको छैन । छुवाछुत लगायतका कतिपय कुराहरु कानूनी रुपमा समाधान भए पनि प्र्याक्टिसमा सजिलोसँग लागू भएको छैन । लागू हुन पनि धेरै समय लाग्ने स्पष्ट छ ।’