आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्रभावकारी कार्यान्वयनमार्फत नयाँ उचाइमा पु¥याउन सडक गुरुयोजना निर्माणको काम सुरु गरिएको बताउनु भएको छ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशसभा सदस्यहरूको सकारात्मक सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारको प्राथमिकता आर्थिक बेथितिलाई रोक्ने र योजनाको काम प्रभावकारी बनाउने रहेको बताउनु भयो ।
‘अब तुरुन्तै प्रदेश सडक गुरुयोजना बन्दैछ । प्रस्तावको रूपमा मन्त्रालयले जिल्ला तहमा पठाउने छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश स्तरका हाइवे बनाउने र प्रदेश स्तरका सडक कति लम्बाइका बनाउने र एक जिल्लामा कति सडक बनाउने भन्ने विषय प्रदेश सडक गुरुयोजनाले निर्धारण गर्नेछ ।’
प्रदेशका पूर्वाधार विकासको काम प्रभावकारी र तोकिएको समयमा सम्पन्न गर्न, प्रदेशमा आवश्यक पर्ने सडकहरूको प्राथमिकता निर्धारण गर्न र योजना कार्यान्वयन प्रभावकारी बनाउन सडक गुरुयोजना निर्माणको काम अघि बढाइएको हो । मुख्यमन्त्री आचार्यले प्रदेशमा तीन हजार सडक रहेको पनि बताउनु भयो ।
योजना कार्यान्वयनको नाममा हुने आर्थिक बेथितिलाई रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्न प्रदेश सभा सदस्यहरूले पनि सहजीकरण गरिदिन उहाँले आग्रह गर्नुभयो । ‘आर्थिक बेथितिलाई रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धामा लैजाने प्रक्रिया सरकारले अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो कार्यान्वयन गर्ने विषयमा माननीयज्यूहरूले पनि सहजीकरण गरिदिनु जरुरी छ ।’ उहाँले एउटै पालिकाभित्र धेरै योजना भएमा त्यसलाई जोडेर ठेक्का प्रक्रियामा लैजान सकिने पनि बताउनु भयो। योजनाहरूका लागि बजेट कम भएको अवस्थामा सरकारले अधुरा कामलाई अर्को वर्ष प्राथमिकताका साथ बजेट उपलब्ध गराउने पनि उहाँले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्