गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइड मनमोहन चौधरीको ज्यान गयो

गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइड मनमोहन चौधरीको ज्यान गयो

मधुवन । बर्दियाको मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडाको आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको ज्यान गएको निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो ।
गैंडा अवलोकनका क्रममा विदेशी पर्यटकलाई गैडाले आक्रमण गरेपछि घाइते अवस्थामा रहेका ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोनलाई बचाउन खोज्दा टुरिस्ट गाइड चौधरीलाई गैंडाले आक्रमण गरेको र लगत्तै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक प्रबीण धितालले बताउनु भयो।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतको बीचमा पर्ने शिव सामुदायिक वनका वन हेरालु थेङ्चु थारुसहित टुरिस्ट गाइड मनमोहन चौधरी र विदेशी पर्यटक गैंडा अवलोकनका लागि आज बिहान सामुदायिक वनभित्र गएका बेला ८ बजेतिर आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट घाइते भएका विदेशी पर्यटकको खुट्टामा चोट लागेको छ । घाइते पर्यटकलाई उपचारका लागि नेपालगञ्ज पठाइएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी दोर्णराज शर्माले जानकारी दिनुभयो । सामुदायिक वनका वन हेरालु सकुशल रहेका उहाँले बताउनुभयो ।