असोज १ गतेदेखि पौष १० नेपाली कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने भएको छ । आइतबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गर्ने बताइएको छ ।
त्यस्तै अभियानका दौरान विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पनि अभियान गर्न लागिएको उल्लेख छ ।
पार्टीका जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका सांगठनिक कार्यमा केन्द्रित हुने पार्टीको भनाई छ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले विभिन्न ११ निर्णय गरेको छ । आइतबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ११ निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार बैठकले २०८० फागुन ७ देखि १० गतेसम्म गोदावरी ललितपुरमा सम्पन्न महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत “नीति–प्रस्ताव”, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत “सांगठनिक प्रस्ताव” र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत “समसामयिक राजनैतिक प्रस्ताव” परिमार्जितसहित सर्वसम्मत पारित गरिएको छ ।
यस्तै कांग्रेस र नेकपा (एमाले) बिच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका बारेमा फैलाएका भ्रममा नपर्न र राजनीतिक संकट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्दत संविधान विरोधी प्रवृत्तिबाट सचेत रहन कांग्रेसले आग्रह गरेको छ ।
कांग्रेसले विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । समितिको संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई अधिकार दिएको छ ।
बढ्दो हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी प्राविधिक, प्रशासनिक एवं व्यवहारिक सुधारका लागि आवश्यक कानुनी बन्दोबस्त गर्न सरकारलाई आग्रह गर्ने कांग्रेसले निर्णय गरेको छ ।
काँग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको प्रस्तावहरु परिमार्जनसहित पारित गरेको छ ।बैठकमा पेचिलो रुपमा उठेको नेतृत्वको ‘एक्जिट पोलिसी’को विषयमा संविधान संशोधन गर्ने समयमा नै निर्णय पुग्ने गरी गरी सहमति जुटेको केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिनुभयो ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्रीद्वय थापा र शर्माको क्रमस सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुँदै आएको थियो ।
काँग्रेसले आशन्न महाधिवेशनको मिति सहितको विषयलाई केन्द्रीय समितिले अगाडि बढाउने,एक्जिट पोलिसी सहितका विषयलाई सम्बोधन गर्नेसहित आवश्यक संशोधन गर्नका लागि विधान मस्यौदा समिति गठन गर्ने लगायतका निर्णय पनि काँग्रेसले गरेको छ ।
विशेषगरी पार्टीको महाधिवेशन २०८२ मा गर्ने विषयमा महामन्त्रीले गरेको प्रस्तावमा विधान बमोजिम गर्ने भन्ने सहमति बनेको नेता सतारले जानकारी दिनुभयो ।
यस्तै गठबन्धनको बिषयमा भने आगामी निर्वाचन ताका नै काँग्रेसभित्र सर्वसम्मत निर्णय गरेर अघि बढ्ने निर्णय भएको छ ।
बैठकमा सनातन धर्मको विषयमा एजेण्डा नभएपनि आकस्मिक रुपमा छलफलमा आएपछि केही नेताहरु बीच उक्त विषय पार्टीको औंपचारीक प्रस्तावमा नभएको विषय छलफलमा ल्याइएको भन्दै भनाभनको अवस्था समेत सृजना भएको थियो ।
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्याउने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले राख्नुभएको, नीतिगत, सांगठनिक र समयसामयिक प्रस्ताव उपर छलफल भएको बताउनु भयो । उहाँले महामन्त्री थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्ताव छलफल भई सोही दिशामा अघि बढ्ने निर्णय भएको बताउनु भयो । प्रवक्ता डा.महतले काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पुयाउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको बताउनु भयो । सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिने बारेमा पनि निर्णय भएको छ । त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता महतले भन्नुभयो, ‘‘गठबन्धनका सम्बन्धमा पनि जुन प्रस्ताव महामन्त्रीको प्रस्तावमा आएको थियो । अहिलेको परिवेशमा सबै कुरालाई मध्यनजर गरी पार्टीलाई नै केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने र पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्नसक्ने परिस्थिति निर्माण गर्ने भन्नेतिर नै निर्णय केन्द्रित भएको छ ।’’ उहाँले महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको बताउनु भयो । महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लिखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको बताउनु भयो ।
बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते भएको सात वुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ र उक्त सहमतिलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसको यो बैठक पुनः दृढता व्यक्त गर्दछ ।’’
यसैगरी, विधान संशोधन मस्यौदा समिति गठन गर्ने १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियान २०८१ असोज १ गतेदेखि पुस १० गतेसम्म सञ्चालन हुने छ ।
प्रतिकृया दिनुहोस्