स्वास्थ्य बिमा बोर्डले १२ अर्ब रुपैयाँ सोधभर्ना नगर्दा अस्पतालहरूमा सेवा रुक्ने खतरा

गुलरिया । स्वास्थ्य बिमा बोर्डले आर्थिकवर्ष २०८०/०८१ को माघयताको सेवा प्रवाहबापत अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने करिब १२ अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन । बिमा सेवा प्रदान गरेबापतको शोधभर्ना रकम लामो समयदेखि रोकिएपछि सरकारी अस्पतालहरूले नै सेवा रोक्ने चेतनवनी दिएका छन् ।
त्रिवि शिक्षण अस्पतालले सूचना नै जारी गरेर भदौ १३ गतेबाट अन्तरंग सेवाका बिरामीको उपचार स्वास्थ्य बिमा प्याकेजमार्फत गर्न नसकिने जानकारी गराएको थियो ।
बोर्डले परिमार्जन गरेको नयाँ सुविधा थैलीअनुसार बिमितलाई सेवा दिन असमर्थ रहेको शिक्षण अस्पतालको भनाइ थियो ।
तर, दैनिक झन्डै दुई हजार बिरामीलाई ओपीडी सेवा दिने अस्पतालले अन्तरंगमा बिमा सेवा रोक्ने चेतावनी दिएपछि बिमा बोर्डका पदाधिकारी नै छलफलका लागि अस्पताल पुगेका थिए । बुधबार भएको छलफलमा हालसम्मको बाँकी भुक्तानी रकम एक महिनाभित्र पठाउने सहमति भएपछि सेवा नरोक्ने निर्णय भएको थियो ।
“हालसम्म रोकिएको रकम एक महिनाभित्र भुक्तानी गर्ने सहमति भएको छ । अब सेवा नरोकिने भयो,” अस्पतालका प्रशासन प्रमुख प्रमोद निरौलाले भन्नु भयो।
निरौलाका अनुसार त्रिवि शिक्षण अस्पतालले बिमा सेवा सुरु गरेको वर्ष २०७७ देखिकै भुक्तानी बाँकी छ । आंशिकरूपमा शोधभर्नापाठाए पनि झन्डै ६६ करोड रुपैयाँ बाँकी रहेको उहाले बताउनु भयो।
“हाम्रो दाबीलाई अरू निजी अस्पतालहरूसँग दाँजेर कहिलेकाहीँ २–४ करोड रुपैयाँ किस्तामा दिने गरेको छ, त्यसरी चल्न ठूलो अस्पताललाई गाह्रो भैहाल्छ नि, फेरि टिचिङले झुटो दाबी गर्छ र यस्तो ढिलासुस्ती गर्नलाई ?,” निरौला भन्नुहुन्छ ।
यता बोर्डले भने बजेट अभाव भएर केही महिनायता भुक्तानी गर्न नसकेको जनाएको छ। बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला स्वास्थ्य मन्त्रालयबाट नै रकम निकासा नभएकाले भुक्तानी रोकिएको बताउँनु हुन्छ।
डा. बसौलाका अनुसार, ०८० माघदेखि सबै सेवा प्रदायक स्वास्थ्य संस्था (४७६वटाकै) शोधभर्ना पठाइएको छैन्। बोर्डले त्रैमासिकरूपमाशोधभर्ना रकम भुक्तानी गर्ने गरेको छ ।
“अन्तिमपटक पुसमा १३ अर्ब रुपैयाँ पठाएका थियौँ । माघयताको बाँकी हो, माघ फागुन र चैतको पठाउन सकिएको छैन,” उहाले भन्नु भयो।
निर्देशक बसौलाका अनुसार, ४७६ स्वास्थ्य संस्थाको माघदेखि चैतसम्मको शोधभर्ना पठाउन १२ अर्ब रुपैयाँ आवश्यक हुन्छ, जुन रकम बोर्डसँग तत्काल छैन । रकम निकासाका निम्ति मन्त्रालयमा प्रक्रिया गरिरहेको उहाँको भनाए छ ।
बोर्डले दाबी रकम रुजु गर्न समय लाग्ने कारण बिमा सेवाबापतको शोध भर्ना रकम भन्दै दाबी गरेको कम्तीमा तीन महिनापछि मात्रै भुक्तानी गर्दै आएको छ ।
पछिल्लोपटक भने ०८० फागुनसम्मको रुजु गरिसकेको र चैतको समेत रिभ्यू गरेर छिट्टै भुक्तानी गर्ने तयारी रहेको डा. बसौलाले जानकारी दिनु भयो । स्वास्थ्य बिमा कार्यक्रममा २०८० असारसम्म करिब ८३ लाख नागरिक आबद्ध छन् ।
प्रतिकृया दिनुहोस्