January 11, 2026, Sunday
२७ पुष २०८२, आईतवार
Trending

सन्दिप विष्ट, सुलभ मल्लमाथि सांघातिक हमला किन गर्या ?

सन्दिप विष्ट, सुलभ मल्लमाथि सांघातिक हमला किन गर्या ?

अगैया । शनिबार फुटबल प्रतियोगिता हेरेर फर्कंदै गर्दा राप्ती सोनारी गाउँपालिका– २ का २८ वर्षीय सन्दिप बिष्ट र बैजनाथ गाउँपालिका– ७ का २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले खुँडा र खुकरी प्रहार गरेका थिए।

उनीहरूलाई बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओलीसहितको समूहले सुनियोजित तरिकाले आक्रमण गरेको प्रहरी अधिकारीहरू बताएका छन्।

सन्दिप बालुवा गिट्टी निकासी पैठारी लगायतका ठेक्का पट्टाको काम गर्थे। वडाध्यक्ष ओली पनि क्रसर उद्योग सञ्चालनदेखि बालुवा गिट्टीको ठेक्का पट्टाको काम गर्दै आएका व्यक्ति हुन्। यी दुबै विगतमा एकै समूहमा रहेर काम गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

पछिल्लो समय खुकुरी प्रहारबाट घाइते भई उपचाररत बिष्ट र मल्ल उनीहरूबाट अलग भएका थिए। उनीहरू पछिल्लो समय नेपाली कांग्रेस निकट नेपाल तरूण दलमा प्रवेश गरेका थिए। अर्कोतर्फ गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित ओली युवा संघ बाँकेका अध्यक्ष पनि हुन्।

विष्ट र मल्लले आफ्नो खोलाको ठेक्का पट्टाको काममा अवरोध पुर्‍याउन सक्ने तथा त्यसबाट आफूहरूको कमाउ धन्दा बर्बाद हुन ठानेर सुनियोजित रूपमा ज्यानै लिने उद्देश्यले आक्रमण भएको घाइतेका आफन्तहरू बताउँछन्। बाँकेका दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा नौ जना आरोपीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। घाइते सन्दिप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले आइतबार नौ जना विरूद्ध ज्यानमार्ने उद्योग अन्तर्गत प्रहरीमा जाहेरी दिनु भएको थियो।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३१ वर्षीय नारायण डाँगी, ३२ वर्षीय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी र ३५ वर्षीय ऋषी देवकोटाविरूद्ध मुद्दा दर्ता भएको छ।

३७ वर्षीय लोकेन्द्र डाँगी, २९ वर्षीय नवीन भण्डारी, ३० वर्षीय विशाल भण्डारी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष  गुप्ताविरूद्ध मुद्दा दर्ता भएको हो।

यस्तै, जाहेरीकर्ताले अन्य ४/५ जनाको पहिचान नभएको हुँदा उनीहरूको खोजी तथा पहिचान गरी नियन्त्रणमा लिन माग गरेकी छन्।

खुकुरी प्रहार घटनामा संलग्नमध्ये हालसम्म वडाध्यक्ष ओली, सन्दिप ओली, रत्न भण्डारी, सन्तोष गुप्तालाई घटना भएकै दिन राति प्रहरीले नियन्त्रणमा लिएको थियो। अन्य पाँच जना फरार भएको हुँदा उनीहरूको  खोजी कार्य भइरहेको एसपी कार्कीले जानकारी दिनु भयो ।

वडाध्यक्ष ओलीसहित पक्राउ परेका सबैविरूद्ध पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले आइतबार नै अनुमति  दिएको थियो।

एसपी कार्की भने घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको बताउनु भयो।

‘दोषी कही उम्कन पाउँदैन र निर्दोष कोही पर्दैन,’ उनले भने, ‘प्रहरीलाई विश्वास गर्नुस् र निष्पक्ष रूपमा काम गर्न दिनुहोस्।’

अझै जाहेरीमा उल्लेख भएका पाँच जना फरारहरूको खोजी भइरहेको हुँदा उनीहरू पक्राउ परेपछि घटना अनुसन्धान गर्न थप सजिलो हुने एसपी कार्कीको भनाइ छ। खुकुरी प्रहार घटनामा संलग्न वडाध्यक्ष ओलीसहित चारै जनालाई  इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ।

खुकुरी प्रहारको घटनाको भर्त्सना तथा खुकरी प्रहार घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग हुँदै आएको छ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलका केन्द्रीय अध्यक्षदेखि बाँके जिल्ला अध्यक्ष, दाङ जिल्ला अध्यक्ष लगायत विभिन्न व्यक्तिले विज्ञप्ति जारी गरेका छन्।