अनुचित लेनदेन गरेको आरोपमा प्रहरीद्वारा दुई पुरुष र पाँच महिला गरी सात जना पक्राउ

अनुचित लेनदेन गरेको आरोपमा प्रहरीद्वारा दुई पुरुष र पाँच महिला गरी सात जना पक्राउ

गुलरिया। अनुचित लेनदेन गरेको आरोपमा प्रहरीले दुई पुरुष र पाँच महिला गरी सात जनालाई पक्राउ गरेको  छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुरको बिजौरी घर भई हाल घोराही उपमहानगरपालिका– १५ बिपीचोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उनका श्रीमान् ५८ वर्षीय धर्मबहादुर बस्नेत, घोराही– १५ की यामाकुमारी बस्नेत,  घोराही– ८ का ५१ वर्षीय तिलकबहादुर महरा क्षेत्री, प्रगतिनगर टोलकी ५३ वर्षीया पार्वता केसी, घोराही– १५ बस्ने ३४ वर्षीया ममताकुमारी केसी (डिसी) र घोराही– १५ की ३७ वर्षीया ऋषा बोहरा रहेका छन्।

पक्राउ परेकामध्येकी माधवा बस्नेतले विभिन्न व्यक्तिलाई ऋण दिई चर्को ब्याज असुल्ने गरेको बताइएको छ। उहाँले ऋण दिनुअघि दस्तखत गराई खाली चेक लिने गर्नु भएको थियो। चेक नभएकाहरूसँग ऋण लिएकोभन्दा बढी रकमकाे तमसुक बनाउने र सावाँब्याज असुल गरेपछि तमसुक च्यातिसकेकाे तथा चेक हराएको भनी आफ्नै नाम राखेर चेक बाउन्स गराएको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो।

चेक बाउन्स गर्नुका साथै तमसुक देखाएर जिल्ला अदालतमा चेक अनादर तथा लेनदेन कसुरमा मुद्दा दर्ता गरेपछि पीडितले यसबारे थाहा पाएका थिए। पीडितहरूको उजुरीपछि अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनु भयो।

बस्नेतले केही तमसुक आफ्नो नजिकका नातेदारहरूको नाममा गराएको र ऋणीहरूबाट लिएको दस्तखत मात्र गरेको खाली चेकमा समेत आफन्तको नाममा लेखी बाउन्समा हालेको पाइएको प्रहरीले जनाएको

छ।