केरल बाढीपहिरोमा मृतकको संख्या १५८ पुग्यो
केरल । भारतको केरलस्थित वायनाडमा भारी वर्षापछि गएको बाढी तथा पहिरोमा परी बालबालिकासहित मृत्यु हुनेको संख्या १५८ पुगेको छ । मृत्यु हुनेमा एक नेपाली बालक पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हिजो बिहान २ बजे वायनाडको मोप्पाडीस्थित थोन्डरनाड क्षेत्रमा गएको पहिरोमा परी नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको हो । पहिरोमा एक सय जनाभन्दा बढी पुरिएको बताइएको छ । तर, सरकारी अधिकारीहरुले पुरिएकाहरुको यकिन तथ्यांक नभएको जनाएका छन् । आज पुनः पुरिएका र त्यस क्षेत्रमा फसेका व्यक्तिहरुको उद्धार कार्यलाई निरन्तरता दिइएको बताइएको छ ।
स्वास्थ्यमन्त्री विना जर्जका अनुसार पहिरोमा पुरिएकाहरुको खोजीका लागि स्थल तथा जल सेना परिचालन गरिएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुको भनाइ छ । २५० जनाभन्दा बढीको उद्धार गरिएको छ । केरलकी मुख्यसचिव वेणुका अनुसार पटक–पटक गएको पहिरोका कारण घाइते भएका ११६ जनाभन्दा बढीलाई मेप्पाडी अस्पतालमा भर्ना गरिएको छ ।
मुख्यमन्त्री पिनाराई विजयनले उद्धारमा सबै सरकारी संयन्त्र सक्रिय भएको जनाउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका आफन्तालाई प्रधानमन्त्री राहत कोषबाट प्रतिव्यक्ति दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।
घाइतेलाई ५० हजार रुपैयाँ दिइने घोषणा गरिएको छ । केरलको विपद् व्यवस्थापन विभागले गत ३० जुलाईमै वायनाडसहित कोझीकोड, मल्लापुरम तथा कन्नुरमा रेड अलर्ट जारी गरेको थियो ।
बर्षाले उतर प्रदेशको राजधानी लखनउ पनि डुबानमा परेको छ। सरकारी कार्यालयमा पानी पस्नाले सेवा अवरुद्ध भएको छ ।
प्रतिकृया दिनुहोस्