December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

मृग नाला र तिनाउ नदीमा डुबेर २ को ज्यान गयो, एक बेपत्ता

मृग नाला र तिनाउ नदीमा डुबेर २ को ज्यान गयो, एक बेपत्ता

गुलरिया । बढैयाताल गाउपालिका–८ तिलकनास्थित मृग नालाको बाँधमा साथीहरुसँग पौडी खेल्न गएका सोही ठाउँका १६ वर्षीय रोशन कार्की डुबेर ज्यान गएको छ।
डुबेपछि स्वास्थ्य गम्भीर भएका कार्कीलाई साथीहरुले उपचारका लागि स्थानीय मेडिकलमा ल्याएका थिए । उनको उपचार त्यहाँ सम्भव नभएपछि जिल्ला अस्पताल गुलरियामा ल्याईएको थियो। उपचारकै क्रममा साउन ११ गते साँझ करिब ७ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताउनु भयो।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनु भयो।
आफ्नी आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका  विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु हुन्। पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए।
डीएसपी पण्डितका अनुसार नदीमा हराएका विप्रन पाण्डेको खोजी भइरहेको छ।