योगदान र योग्यता, समावेशीता , प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरु चयन गर्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा असार २९ गते बस्यो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गर्नु भएको थियो ।
आजको बैठकमा महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सदस्यहरू— चित्रलेखा यादव, अर्जुननरसिंह के.सी. र रमेश लेखकले आफ्नो धारणा राख्नु भएको थियो
नेपाली कांग्रेसले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा, जीवन परियार, अजय चौरासिया, दिपक खड्का, हृदयराम थानी,अर्जुननरसिंह केसी, किशोर सिंह राठौर, डा. चन्द्र भण्डारीलाई मन्त्री पठाउने लगभग निश्चित छ।
बैठकले देहाय बमोजिमको निर्णयहरू गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
(१) नारायणगढ—मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुबै बस त्रिशुली नदीमा खस्दा करीब ५ दर्जन यात्रुहरूको अवस्था अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका ७ जना सहित ११ जना मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति कार्यसम्पादन समितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गर्दछ । युद्धस्तरमा उद्धार, वेपत्ता भएकाहरूको खोजी, नागरिकलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सम्बन्धित निकायसँग नेपाली कांग्रेस आग्रह गर्दछ । प्राकृतिक विपद्मा परि ज्यान गुमाउनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
(२) यस्तो ढंगले हुँदै आएका यस प्रकृतिका सडक दुर्घटनाको दुःखद अवस्था अन्त्य गर्न सरकारले पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्यूनिकरण सम्बन्धी आवश्यक कानूनी व्यवस्था गर्न संसदमा अविलम्व विधेयक प्रस्तुत गरेर सो बमोजिमको व्यवस्था कडाइका साथ लागु गर्न नेपाली कांग्रेस सरकार समक्ष मांग गर्दछ ।
(३) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमति भए अनुसार, नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली नेतृत्वको सरकारमा, नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने निर्णय यो बैठक गर्दछ ।
(४) नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय यो बैठक गर्दछ ।
प्रतिकृया दिनुहोस्