December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

साना लगानीका मिडियाको  व्यवस्थापन र सवलीकरणमा  ध्यान देऊ : नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश

साना लगानीका मिडियाको  व्यवस्थापन र सवलीकरणमा  ध्यान देऊ : नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश

स्वर्गद्वारी। नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिले मिडियालाई सबल बनाए मात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 
प्यूठानको स्वर्गद्वारीमा सम्पन्न भेलाले १० बुँदे ‘स्वर्गद्वारी घोषणा पत्र जारी गर्दै पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर गरेको छ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिको स्वर्गद्वारीमा भएको भेलामा  साना लगानीका स्वरोजगारमुखी मीडिया बचाउ अभियान लुम्बिनी प्रदेशका संयोजक एवम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यम नाथ घिमिरेले  युनियनका सभापति सुदिप गौतम, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन, मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई साना लगानीका मीडिया प्रवर्द्धनको मांग सहित ज्ञापन पत्र बुझाउनु भएकोथियो।मिडियाको  व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकोमा साना लगानीका स्वरोजगारमुखी सञ्चारमाध्यम बचाउ अभियान लुम्बिनी प्रदेश समितिले युनियनको सो निर्णयको हार्दिक स्वागत गर्दै धन्यवाद समेत दिन्छौ : संयोजक घिमिरेले भन्नु भयाे।
नेपाल प्रेस युनियनको भेलाले लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी सामानुपातिक वितरण प्रणाली अवलम्बन गर्न माग समेत गरेको  छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न जोडदार माग गर्दै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसाथ गरी समुन्नत समाज निर्माणका लागि समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष सुदिप गौतमले बताउनु भयाे।
यस्तै लुम्बिनी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएको भन्दै सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न सचेत समेत गराइएको महासचिव नवीन गिरीले बताउनु भयो।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा प्रेस युनियन लुम्बिनी पूर्णरुपमा कार्यान्वयनको पक्षमा रहेको तर, प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन माग गरिएको अध्यक्ष गौतमले बताउनु भयाे। साथै युनियनमा पनि शुद्धिकरण अभियानलाई प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको बन्दसत्रले १० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनको केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकार  प्रशिक्षण बर्ष २०८०’ पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । लुम्बिनी प्रदेशका महत्वपूर्ण धार्मिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण र संवर्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत पर्यटन  मुद्दालाई उच्च प्राथमिकता दिने समेत भेलाको प्रतिबद्धता  छ। 
दुई दिने प्रदेशस्तरीय भेलालाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण  समय दिएर सहभागी हुने प्रमुख अतिथि, विशिष्ट अतिथि, केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रिय सदस्य, १२ वटै जिल्लाका जिल्ला कार्यसमितिका पदाधिकारी लगायत सहभागी सबैप्रति कृतज्ञता प्रकट गर्दै आतिथ्यताका लागि जिल्ला शाखा प्युठान र स्वर्गद्वारी आश्रम परिवारप्रति नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिले धन्यवाद  ज्ञापन गरेको छ ।  
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको आयोजना तथा प्यूठान शाखाको आतिथ्यतामा भदौ २२ र २३ गते पवित्र धार्मिकस्थल प्यूठानको स्वर्गद्वारीमा लुम्बिनी प्रदेशस्तरीय भेला र विस्तारित वैठक भव्यरुपमा सम्पन्न भएको महासचिव गिरीले बताउनु भयो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेलाको उद्घाटन गर्नु भएको थियो भने विस्तारित बैठकको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी  प्रदेश सभापति अमरसिंह पुनले गर्नु भएको हो। ।  
भेलामा नेपाली काँग्रेस लुम्बिनीका सहमहामन्त्री निमा गिरी, प्रदेश सदस्य अमर भण्डारी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलीप पौडेल, केन्द्रिय सदस्यहरू, जिल्लाका अध्यक्ष एवं पदाधिकारी, पत्रकार महासंघ प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष लगायतको उपस्थिति थियो ।