लम्पी स्किनको प्राथमिक उपचार कसरी गर्ने?
लुम्बिनी पत्र। लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने रोग हो ।
पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार लम्पी स्किन रोग भैँसीमा भन्दा गाईमा बढी देखिन्छ ।
नेपालको अर्थतन्त्रमा करिब ११.५ प्रतिशत हिस्सा राख्ने पशुपालन क्षेत्र लम्पी स्किन लगायतका रोगका कारण संकटग्रस्त हुँदै गइरहेको छ ।
गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगका कारण बस्तुभाउको मृत्यु हुने, दूध र मासु उत्पादनमा ह्रास आउने, पशुमा प्रजनन समस्या देखिने (तुहिने, गर्भपतन हुने, बाली नजाने), छाला उत्पादनमा समेत समस्या आउने देखिएको छ।
निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्न गई किसानको ठूलो धनराशिको नोक्सान भइरहेको छ।
यस रोगका कारण करिब छ महिनासम्म साढे तथा राँगाहरू प्रजननमा आउन नसक्ने र लामो वेतान्तर भई गाई भैँसीको दूध उत्पादनमा ४० देखि ५० प्रतिशतसम्म कमी हुने अनुसन्धानहरूले देखाएको छ ।
सातै प्रदेशमा सङ्क्रमित ६ लाख ९० हजार ६९७ पशुमध्ये १ लाख ८० हजार ९२२ पशुलाई खोप लगाइएको विभागका सूचना अधिकारी डा. ढकालले बताउनु भयो । सबैभन्दा धेरै सुदूरपश्चिममा र कम मधेस प्रदेशमा पशु सङ्क्रमित भएको पाइएको छ ।
यस्तै, सङ्क्रमण दर उच्च भएझैँ मृत्यु पनि सुदूरपश्चिममै बढी छ भने मधेस प्रदेशमा कम छ ।
लम्पी स्किन रोगबाट सङ्क्रमित भएका गाईभैँसीको दूध विक्री वितरण नगर्न र नखान डा. ढकालको सुझाव छ । हालसम्म पशुबाट मानिसमा यो रोग सरेको नपाइए पनि सङ्क्रमित पशुलाई विभिन्न किसिमको औषधि खुवाइने भएकाले दूध खान नहुने ढकालले बताउनु भयो ।
‘यो रोग लागेका गाईभैंसीको दूध धेरै बेरसम्म उमालेर खान त हुन्छ । तर, गाईभैंसीलाई औषधि सेवन गराइने भएकाले दूध नखाएकै बेस ।’ उहाले भन्नु भयाे ।
गर्मी याम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको हो । यो रोग टोक्ने झिँगा, भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने डा. ढकाल बताउँनुहुन्छ।
बर्खाको समयमा गोरु तथा राँगाहरूको सहयोगमा खेतीपाती गरिने भएकाले सङ्क्रमणको दर उच्च जोखिममा रहेको पशु चिकित्सकहरू बताउँछन् ।
लम्पी स्किन रोग बस्तुभाउमा देखिदा छालामा साह्रो गिर्खा देखिने, उच्च ज्वरो आउने गर्दछ ।
डा. ढकालका अनुसार रोगको लक्षण देखिएका पशुलाई गरिने प्राथमिक उपचार निम्नानुसार गर्नुपर्छः
–ज्वरो घटाउनका लागि पारासिटामोल वा मेलक्सिकेम प्रयोग गर्ने
–घाउ चिलाउन कम गर्ने औषधिको प्रयोग गर्ने
–फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलहम प्रयोग गर्ने
–रोगका कारण शिथिल भएको पशुलाई आवश्यकता अनुसार स्लाइन दिने
–शरीरमा गिर्खाको सङ्ख्या अत्यधिक भएका पशुमा आइभरमेक्टिन सुई लगाउने
–घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिवायोटिक सुई लगाउने
रोग लागेका गाई, भैँसीको हेरचाह कसरी गर्ने ?
–रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने
–ज्वरो आएको पशुलाई आराम गराउने । जोत्ने, गाडा तान्ने काममा नलगाउने
–प्रशस्त मात्रामा सफा पानी खान दिने
–पातलो कुँडो वा नरम घाँस दिने, दाना, पानी राम्ररी नखाने पशुलाई सख्खर पानी वा गुँड पानी खुवाउने
–गोठमा झिँगा, भुसुना, लामखुट्टे लाग्न नदिन गोठ वरपर धुवाँ लगाउने
–आफ्नो गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामूहिक चरन, खर्क, आहालमा नलैजाने ।
प्रतिकृया दिनुहोस्