मृत व्यक्तिको जग्गा आफ्नो नाममा नामसारी गरी ठगी गर्ने पक्राउ

मृत व्यक्तिको जग्गा आफ्नो नाममा नामसारी गरी ठगी गर्ने पक्राउ

गुलरिया। मृत्यु भइसकेको सासुको नाममा रहेको सम्पत्ति छोरा बनेर किर्ते कागजात बनाई हत्याउन लागेको आरोपमा प्रहरीले  मकवानपुर घर भई हाल काठमाडौंको कपन बस्दै आएका सतराज गुरुङलाई पक्राउ गरेको हो । सतराजले स्याङ्जाकी उमादेवी गुरुङको नाममा काठमाडौंको कीर्तिपुरमा रहेको जग्गा उनको नक्कली छोरा बनेर आफ्नो नाममा नामसारी गरेका थिए । स्याङ्जाको मेथाभुरुङ-२ मा जन्मिएकी गुरुङको २०७४ भदौ २६ गते नै मृत्यु भएको थियो । सतराजले उमादेवीको मृत्युपछि उनको नाममा नक्कली कागजात तयार गरी जग्गा नामसारी गरी ठगी गरेका थिए ।

उमादेवीको नाममा कीर्तिपुरमा ९९२ वर्गमिटर जग्गा रहेको थियो । सतराजले जग्गा हत्याएको थाहा पाएपछि उमादेवीका श्रीमान्‌ले प्रहरीमा जाहेरी दिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले मृत्यु भइसकेकी उमादेवीका नाममा रहेको जग्गा नक्कली छोरा बनेर किर्ते कागजात बनाई नामसारी गरेको आरोपमा मकवानपुर टिस्टुङ घर भई हाल कपन बस्ने सतराजलाई पक्राउ गरिएको बताउनु भयो।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । कार्यालयका अनुसार गुरुङलाई संगठित लिखत किर्ते र ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।