सहयोगी दल इमान्दार नबन्दा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर गुमायो
गुलरिया । नेपाली कांग्रेसका प्रवक्ता, केन्द्रीय सदस्य, पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री डा. प्रकाश शरण महतले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विजयी बनेर पनि सहयोगी दल गठबन्धनप्रति इमान्दार नबन्दा सरकारको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसले गुमाएको बताउनु भएको छ।
एमाले, माओवादी लगायतको अहिलेको गठबंधन पदलोलुपप्ताको पराकाष्ठा, महत्वकांक्षाको गठजोर र अपवित्र गठबंधन रहेको जिकिर गर्नु भएको छ।
४७ औं राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस बर्दियाले गुलरियामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रवक्ता महतले आगामी निर्वाचन एक्लै लडेर जित्ने हो भन्ने मानसिकताका साथ काम गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो ।
पार्टी भित्र आपसमा शत्रुता, पूर्वाग्रह, कटाक्ष नराखी स्वस्थ बहस गर्न गराउन सबै लाग्नु पर्ने उँहाको भनाई छ।
निर्वाचन प्रणालीमा सुधार गरी समानुपातिक प्रणाली खारेज गरी भारतमा जस्तो सीट आरक्षण पदत्ती लागू गर्नुपर्ने प्रवक्ता महतको भनाई छ।
कांग्रेस विरुद्ध बुनिएका जालझेल र षड्यन्त्रलाई निस्तेज पार्ने बताउँदै प्रवक्ता महतले नेपाली कांग्रेसको मूल आधार नै आम नेपाली नागरिक रहेको बताउनु भयो । हालैको निर्वाचनमा हाम्रो पार्टीप्रति नेपाली नागरिकहरुको अत्यन्त ठूलो विश्वास प्रकट भएको छ । हामीलाई नेपाली नागरिकको सेवामा जानबाट कसैले रोक्न सक्दैन । यस घडीमा संयम अपनाउनु हुन पार्टीका सबै तहका साथीहरु र शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु : उँहाले भन्नु भयो। भातृ संगठनको अधिवेशन छिटोछरितो हुनु पर्ने उँहाको धारणा छ।
देशका राजनीतिक शक्तिहरुबीच मेलमिलाप र सहकार्य गरेर लोकतन्त्र स्थापना गरी मुलुकलाई विकसित र समृद्ध बनाउने संकल्पसहित जननायक बीपी कोइरालाले प्रतिपादित गर्नुभएको यो नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उँहाले बताउनु भयो। कठोर संघर्षका दिनमा समेत लोकतन्त्र र जनताको सुख समृद्धिको निमित्त समर्पित हुन अभिप्रेरित गर्ने मेलमिलाप नीतिको मर्म अनुरुप काम गर्न हामी सबै अग्रसर हुनुपरेको छ : उँहाले भन्नु भयो।
नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य पूर्व मन्त्री डा. गोपाल दहित, केन्द्रीय सदस्य, पूर्व मन्त्री संघीय सांसद सञ्जय गौतम, केन्द्रीय सदस्य तथा संघीय सांसद जावेदा खातुन, प्रदेश सांसद भुवनेश्वर थारू, विद्या प्रसाद खनाल, राजेन्द्र प्रसाद धिताल,खडानन्द तिवारी लगायतले सम्बोधन गर्नु भएको छ।
प्रतिकृया दिनुहोस्