भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउँदै भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताउनु भएको छ । भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको उँहाको भनाई छ।भ्रष्टाचार समाजको कलंकको रूपमा रहेको भन्दै यसको नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यविरुद्ध आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाको भनाई छ।
भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिनु भएको हो।
भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै देउवाले भ्रष्टाचारको नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै गएको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकिसित समाज निर्माणका लागि हामी सबै प्रतिबद्ध हुन आवश्यक छ । समाजको कलंकको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यका विरुद्ध आवाज मुखरित गरी भ्रष्टाचारका गतिविधिहरूको नियन्त्रणका लागि आवश्यक कार्य गर्नुपर्नेछ । सरकारी कामलाई चुस्त बनाउन र जनतालाई सुशासन र सहज व्यवस्थापनको अनुभूति दिनु आजको आवश्यकता हो । भ्रष्टाचारजन्य गतिविधि हुन नदिन राज्यका सबै तहमा कडाइका साथ कानुनको पूर्ण पालना गर्न निर्देशन गर्दछु । भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध छ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनमा आवश्यक सुधार गरी अघि बढ्न सरकार प्रतिबद्ध छ । भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनलाई सुधार गर्न जरुरी छ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको खाँचो रहेको छ ।’ प्रधानमन्त्री देउवाले भन्नु भयो।
प्रतिकृया दिनुहोस्