February 5, 2025, Wednesday
२३ माघ २०८१, बुधबार

४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद

४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद

बारा। पछिल्लो ७ वर्षको तथ्यांक केलाउँदा भारतमा छापेर पठाइएका करिब ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद भएको छ । त्यसमध्ये सबैभन्दा बढी मधेसका विभिन्न क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रधान कार्यालयको अभिलेखमा उल्लेख छ । पछिल्लो दुई वर्षमा बाराबाट मात्रै आठ पटक नक्कली नोटसहित गिरोह समातिए पनि तस्करी रोकिएको छैन । आव २०७१/७२ देखि २०७८/७९ को ७ वर्षमा ३ करोड ६९ लाख ६२ हजार ५ सय ६० रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको देखिन्छ ।
यो अवधिमा नेपालका विभिन्न स्थानबाट प्रहरीले भारतीय करिब ८ करोड नक्कली नोट बरामद गरेको छ । २०७८ फागुन ५ मा काठमाडौंबाट रौतहट गौर २८ वर्षीय पृथ्वीप्रसाद साह, २७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली र २८ वर्षीय मोहम्मद संसाद आलम २ लाख ९४ हजार नक्कली नोटसहित पक्राउ परेका थिए । उक्त नोट पनि भारतबाटै भित्र्याइएको खुलेको थियो ।
२०७८ मंसिर २९ मा बारा प्रहरीले रौतहटको परोहा नगरपालिका–८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नोटसहित भारत मोतिहारीका २६ वर्षीय विकास जयसवाल र ३२ वर्षका अजय प्रसादलाई पक्राउ गर्‍यो । मोटरसाइकलबाट नक्कली नोट लिएर आएका उनीहरू सीमा नजिकैबाट पक्राउ परेका थिए । त्यसको एक महिनाअघि २०७८ कात्तिक ११ मा महोत्तरीबाट एक तरकारी व्यापारी ४४ वर्षका सुकन महतो पक्राउ परे । उनको डेराबाट करिब ९ लाख नक्कली नोट फेला परेको थियो ।
यी सबै नक्कली नोट भारतमै छापेर नेपाल भित्र्याइएको थियो । सुरक्षा स्रोतका अनुसार दक्षिणका साना/ठूला नाका तथा चेक प्वाइन्टबाट गिरोहले भारतमा छापिएका नक्कली नोट भित्र्याउने गरेकोमा धनुषाको भिट्टामोड, सिरहाको बलान खोला नजिकैको चेक प्वाइन्ट, राजविराज, बाराको सिम्रौनगढलाई बढी महत्त्व दिने गरेको देखिन्छ । यसरी भित्रिएको नोट तराई/मधेसकै बजारमा पुर्‍याउने र मौका हेरेर गिरोहले त्यसलाई काठमाडौंसम्मै बिस्तार गरेको स्रोत बताउँछ ।
नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लम्बाइमा सीमा जोडिएकोमा सीमा सुरक्षा तथा सीमा पार अपराध रोकथाम तथा नियन्त्रण गर्न सशस्त्रका २ सय २० स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) र सीमा अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका ६५ बढी सीमा सुरक्षा कार्यालय तैनाथ छन् । तर, गिरोहले सुरक्षाकर्मीलाई छलेर नाकाबाटै नक्कली नोट भित्र्याउने गरेका छन् ।
नक्कली नोट छपाएर नेपालमा तस्करी गर्ने गिरोह सक्रिय भइरहेको देखिन्छ । नक्कली नोटको कारोबार रोक्न नसकिए यसले मुलुकको मुद्रामा असर पुर्‍याउँछ । राष्ट्र बैंक र अनुसन्धान गर्ने निकाय पनि यो विषयमा गम्भीर भएर लागेको देखिँदैन । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार १ लाख नक्कली नोट नेपालमा पठाउँदा गिरोहले ३३ हजार रुपैयाँ लिने गरेको छ । गिरोहले ५ लाख नक्कली नोट दिएबापत ३३ प्रतिशत सक्कली नोट लिएर थप २ लाख नक्कली सित्तैमा दिने गरेको पनि स्रोत बताउँछ । पछिल्लो पटक बाराबाट ९ लाख नक्कली नोटसहित पक्राउ परेका तीन जनाले भारतमा रहेको गिरोहलाई ३ लाख रुपैयाँ दिएको खुलेको छ ।
‘पछिल्ला केही वर्षअघिबाट नेपाल र भारतमा सक्रिय गिरोहले रफ्तारमा नेपाली नक्कली नोट छपाएर बजारमा पठाउन ट्रायल गरेको देखिन्छ, हाम्रो अनुसन्धानले १ हजार रुपैयाँ लिएर नक्कली नोट ३ हजार दिने गरेको भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘कतिपयमा सुरक्षाकर्मीको सावधानीले बजारमा पुग्न नपाई नियन्त्रणमा लिइए पनि त्यसले मात्रै पुग्दैन, यसविरुद्ध विशेष कारबाही अभियान नै थाल्नुपर्ने हुन्छ ।’
स्रोतका अनुसार नक्कली नोटको कारोबारमा सीमा क्षेत्रमा करिब डेढ सय जनाको समूह सक्रिय छ । नेपालमा पक्राउ परेका व्यक्ति भरिया र ग्राहक मात्रै रहेको र मुख्य गिरोह भारतमै लुकेर नेपालमा धन्दा चलाउने गरेको स्रोत बताउँछ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २५६ मा नक्कली नोटको कारोबार तथा ओसारपसार गर्नेविरुद्ध ‘खोटा मुद्रा’ को कसुरमा ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । नक्कली नोट तथा खोटो सिक्कासम्बन्धी विनियमावली २०७७ ले पनि यस्तो अपराधमा संलग्नलाई मुलुकी अपराध संहिताअनुसार कारबाही गर्ने भनेको छ तर राष्ट्र बैंक, प्रहरी र सशस्त्रले यो अपराध नियन्त्रण गर्न संयुक्त अभियान चलाएका छैनन् । सक्कली र नक्कली नोटबारे आमनागरिकले कसरी पत्ता लगाउने भन्ने जानकारी राष्ट्र बैंकले देशभर अभियानकै रूपमा चलाउन सक्छ । त्यसलाई कार्यान्वयन गरेर सीमा क्षेत्रका नागरिकलाई अझ सुसूचित गराउन सुरक्षा निकायले आफ्नो संयन्त्र परिचालन गर्न सक्छन् ।
प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई नेपाली नक्कली नोट कारोबार बढ्दै गएकाले त्यसलाई बेलैमा नियन्त्रण गर्न नसके स्थिति भयावह हुने बताउँनु हुन्छ । ‘पहिला फाट्टफुट्ट नक्कली नोट भेटिने गरेकामा अहिले गिरोहले संगठित रूपमै तस्करी गरिरहेको देखिन्छ, खासगरी भारतीय नाका हुँदै भित्र्याएर नेपाली बजारमा पठाउन गिरोह सक्रिय देखिन्छ,’ प्रवक्ता राई भन्छन्, ‘भीडभाड, चाडपर्व, अशिक्षित वर्ग, ठूलो रकमको गड्डीमा घुसाउनेलगायत रणनीति गिरोहले अपनाएको देखिन्छ । त्यसलाई रोक्न अब प्रहरी मात्र होइन, नियामक निकायदेखि बैंक/वित्तीय क्षेत्र र आमरूपमा यसप्रति अवेरनेस कार्यक्रम सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकता छ ।’
पछिल्ला केही वर्षयता बरामद नक्कली नोटको कागज र छाप्ने मेसिन पनि गुणस्तरीय देखिएकाले यो समस्या विकराल बन्दै जान सक्ने उनले बताए । त्यसका लागि भारतमा नक्कली नोटको कारोबारप्रति आममानिस जसरी सजक र सतर्क छन्, त्यस्तै सजगता प्रवाह गर्न राष्ट्र बैंकबाटै विशेष पहल हुन आवश्यक छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नेपाली नक्कली नोट कारोबार नियन्त्रण गर्न सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताए । उनले नक्कली नोट कारोबार नियन्त्रण गर्न मूलतः तीनवटा पक्ष महत्त्वपूर्ण हुने बताउनु भयो।
‘नक्कली नोट कारोबारमा संलग्नलाई कारबाही गर्ने पहिलो निकाय प्रहरी–प्रशासन नै हो, त्यसमा हामीले पनि वित्तीय साक्षरता सञ्चालन गर्ने, आमनागरिकमा होसियारी र सजगता बढाउने हो,’ प्रवक्ता भट्टले भन्नु भयाे, ‘यसबाहेक आमनागरिकले बैंकिङ कारोबार र भुक्तानीलाई बढावा दिने, बैंक/वित्तीय संस्थाले पनि सबैको पहुँच पुग्ने गरी सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट सबैको पहुँचमा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने नै हो ।’ केही वर्षयता बरामद नक्कली नोटको अवस्थाले पनि सावधानीमा सबै लाग्नुपर्नेतर्फ सजग गराएको उहाको भनाई छ।
बिशेष सूचनाको आधारमा मिति असोज २१ गते साँझ ६  बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल स्थित सडकमा  भारत बिहार राज्य जिल्ला मोतिहारी पुर्वी चम्पारण ग्राम पोष्ट पिप्राकोठ्ठी बस्ने रोहिचन मुखियाको छोरा अ.बर्ष २५ को रंजित कुमार मुखियालाई आफ्नो कम्मर तथा आफु चलाई आएको मोटर साईकलको सिट मुनी लुकाई छिपाई राखिएको अवस्थामा  नक्कली नोट जस्तो देखिने नेपाली रु.१०००।- दरको रु.९,००,०००/-(नौ लाख) सहित फेला पारी बरामद गरेको थियो। सो वारदातमा संलगन सैनुल्लाह अंसारी र बिनाका मुखिया बिनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ। (कान्तिपुर)