बबईको बाढीले सय घरका ५०० जति विस्थापित
गुलरिया । मंगलबारदेखि परेको अविरल वर्षाले बबई नदीमा बाढी आएपछि तटीय क्षेत्रका सयौं बासिन्दा प्रभावित भएका छन्। बर्दियामा झण्डै १०० घरका ५ सय जना विस्थापित भएका छन्। सयौ बिगाहा धानबालीमा क्षति समेत पुगेको छ। बबई नदीमा जलस्तर अझै बढी नै छ। वर्षा र बाढीले गुलरिया नगरपालिकाको ५,६,८,११, १२ वडा र बार बर्दियाको ३ नम्बर वडामा गरी झन्डै १०० घर जति डुबानमा परेका परेका छन्।
बबई नदीमा आएको बाढीका कारण बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुरमा ३५ घर, गुलरिया वडा नम्बर ६ सृजना टोलमा ५ घर, वडा नं. ८ मुक्तिनाथ टोल र राधाकृष्ण टोलमा २१ घर, वडा नम्वर ११ ईन्द्रपुरमा १० घर, वडा नम्वर १२ बिक्रीमा ३ घर, बार बर्दिया खुर्खुरे फाटामा ३ घर र अन्य गरी झण्डै १०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनु भयो।
बबई नदीमा पानीको सतह बढेपछि थपुवा गाउँ नजीकको डिल भत्किएर बाढी गाउँ पस्ने जोखिम बढेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय मिली बोरामा बालुवा भारी अस्थायी तटबन्ध निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगरले बताउनु भयाे। बाढीका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको उहाँले जानकारी दिनु भयो। बाढी प्रभावितहरु सडक किनारको त्रिपाललगायत विद्यालयमा आश्रय लिइरहेका छन्।
पीडितहरुलाई स्थानीय वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटीले तयारी खानेकुरा लगायतका आवश्यक सामाग्री उपलब्ध गराएका छन्।
बबई जलाधारको रानीजरूवा,रम्मापुर र बर्दियाको धेरै स्थान तथा पश्चिम राप्ती भारी बर्षा भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भयाे।चेपाङमा सतह बढ्दो र थप बर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने,खतरा भन्दा माथी हुने भएकाले बर्दियाको डुवान हुने स्थानमा हुनेहरू सुरक्षित रहन प्रजिअ बास्तोलाले आग्रह गर्नु भयो। हुलाकी राजमार्ग गुलरिया- नेपालगञ्ज सडकखण्डको लालपुर इन्द्रपुरमा पानी बग्न नछाडेपनि प्रहरीको सहयोग र निगरानीमा सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले बताउनु भयो।
कैलाली स्थित कर्णाली चिसापानी केन्द्रमा जलसतह सतर्कता नजिक (९.६ मि.) पुगेको र बढ्दो छ र खतरा आसपास पुग्न सक्ने अनुमान छ बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनु हुनेहरूले राती १० बजे सम्म उच्च सतर्कता अपनाउनु पर्ने मौसम बिद र सुरक्षा अधिकारीहरुको सुझाव छ।
प्रतिकृया दिनुहोस्