December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

स्वास्थ्य क्षेत्रको समस्या समाधानमा सामूहिक प्रयत्न र सहकार्यको आवश्यकता : प्रधानमन्त्री

स्वास्थ्य क्षेत्रको समस्या समाधानमा सामूहिक प्रयत्न र सहकार्यको आवश्यकता : प्रधानमन्त्री

गुलरिया। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनु भएको छ।
मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो।
उहाले सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नु भयाे।
प्रधानमन्त्री देउवाले सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरूको निर्धारण, पालना, खोपलगायतका आवश्यक सामग्रीहरूको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताउनु भयो।
‘हाल कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेका छौँ। एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका सामाजिक, आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ,’ उहाले भन्नु भयाे, ‘सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ।’
प्रधानमन्त्री देउवाले विज्ञहरूको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भयो।
उहाँले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि सामूहिक प्रयत्न र सहकार्यको आवश्यकता भएको उल्लेख गर्नु भयो। उहाँले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्न आवश्यक रहेको बताउनु भयाे। उहाँले कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेको भन्दै कोरोना र डेंगुबाट निधन भएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो।