भारतीय र पाकिस्तानी केही संदिग्ध व्यक्ति नेपाल प्रहरीको निगरानीमा

काठमाडौं । भारतीय कुख्यात अपराधिक समूहको संलग्नतामा पटक पटक नेपाली नागरिक मारिँदै आएका छन् । सोमबार भएको सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा जालीनोट र हत्या अभियोगमा ८ वर्ष ७ महिना जेल परि ६ वर्षअघि छुटेका काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक लाल मोहम्मद अन्सारीको हत्या साढे २ दशक यता अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको विगतका घटनासँग मिल्दोजुल्दो देखिन्छ । अन्सारी पनि विगतमा जाली नोट कारोबारसँग जोडिएको र त्यसविरुद्ध भारतीय सत्ताको संरक्षणमा रहेका आपराधिक गिरोहको निशानामा हुनसक्ने स्रोत बताउँछ । घटनापछि प्रहरीको विशेष ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगायत विशिष्ठिकृत अपराधको अनुसन्धान गर्ने युनिटबाट प्रहरी अनुसन्धानमा खटिएका छन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले घटनाको अनुसन्धान भैरहेको र यसका लागि सबै उपाय अपनाएर अनुसन्धान अधिकृत खटिएको बताउनु भयो।
घटनासँग जोडेर भारतीय र पाकिस्तानी केही संदिग्ध व्यक्ति प्रहरीको निगरानीमा छन् । सिकन्दर, तमाच, अस्लाम लगायत नामका व्यक्तिमाथि यो घटनासँग जोडेर प्रहरीले अनुसन्धान गरिरहेको छ । केही नेपाली पनि घटनामा अनुसन्धानको दायरामा तानिएको स्रोतले बताएको छ ।
२०६६ असोज १९ मा नेपालगञ्जका व्यवसायी अब्दुल मजिद मनिहारको गोली हानी हत्या भएको थियो । हत्यामा भारतीय कुख्यात अपराधी मनमित सिंह भनिने मनमित भाटियाको संलग्नता खुलेको थियो । उनले पछि सञ्चार उद्यमी युनिस अन्सारी केन्द्रीय कारागारमै हत्या प्रयास गरेका थिए । कारागार बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो । २०६६ माघ २४ सञ्चार उद्यमी जमिम शाह लाजिम्पाटमा दिनदहाडै मारिए । सो घटनामा पनि भारतीय आपराधिक समूहकै संलग्नता खुलेको थियो । इस्लामिक संघका महासचिव फैजान अहमद काठमाडौंको घण्टाघरमा मारिएका थिए । पछिल्लो पटक २०७५ असोज ४ मा सुनसरीका विद्यालय सञ्चालक खुर्शिद आलम गोली प्रहारबाट मारिए । २०५५ असोज १५ मा राप्रपा सांसद मिर्जादिल साद बेग सिफलमा मारिएका थिए । घटनामा भारतीय कै संलग्नता खुलेको थियो । माथिका यी सबै घटनामा भारतीय कुख्यात गिरोहको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुले पनि उनीहरुको गतिविधि अझै पनि जारी रहेको प्रहरी स्रोत बताउँछ ।
सोमबार गोठाटारमा भएको गोली प्रहार र हत्या सम्बन्धी घटनामा पनि भारतीय गिरोहको संलग्नता रहेको प्रहरीको आशंका छ । करिब एक दशक कारागारमा बसेका मृतक अन्सारी यसअघि पनि भारतीय गिरोहको निशानामा रहेको र उनी जेलबाट छुटेपछि निगारानी बढाउँदै लगेर उनलाई निशानामा पारेको हुनसक्ने आशंका छ ।
पारिवारिक स्रोतका अनुसार उनी केही वर्षअघि केन्द्रीय कारागारबाट छुटेका थिए । त्यसपछि काठमाडौंका परिवारका सदस्यसहित बस्दै आएका उनले गार्मेन्ट फ्याक्ट्रीको सञ्चालन गरिरहेका थिए ।
प्रतिकृया दिनुहोस्