नेतृ आरजु सहितका नेताहरु समानुपातिकमा

नेतृ आरजु सहितका नेताहरु समानुपातिकमा

काठमाडौं । समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ । एक पदाधिकारीले भन्नु भयाे, ‘अहिले समितिको बैठक चलिरहेको छ । निर्वाचन आयोगमा कानुनसम्मत तरिकाले बन्द सूची बुझाउँछौँ ।’
नेपाली कांग्रेसले सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार, केन्द्रीय सदस्य आरजु राणा देउवा र पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ । कैलाली-५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि आरजुलाई अन्तिममा  समानुपातिकतर्फ राख्ने तयारी भएको हो ।
यसअघि २०७४ मा आरजु कैलाली-५ बाटै प्रत्यक्ष निर्वाचन लड्नु भएको थियो । उहालाई एमालेका नारदमुनि रानाले चुनाव हराउनु भएको थियो।
मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ ।
कानुनबमोजिम प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना र सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन् । त्यसैका लागि दलहरुले सोमबारसम्म आ-आफ्नो दलका तर्फबाट आयोगमा उम्मेदवारको सूची दर्ता गर्न लागेका हुन् ।